संसद् सरकारको अधीनमा रहने शाखा होइन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वाेच्च निकाय रहेको बताएका छन् ।

आइतबार १९औँ संसद् सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताए ।

उनले भने, ‘संसद् सेवालाई बन्द सेवाका रूपमा राखिनुको आफ्नै तर्क र आवश्यकता छ । यसको फाइदा र बेफाइदा दुवैलाई वस्तुनिष्ठ रूपमा हेरिनुपर्छ ।’

‘संसद् सेवालाई केवल बन्द मात्र राख्ने होइन, यसलाई जीवन्त र गतिशील बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।

संसदले बनाएका कानून कार्यान्वनमा सरकारको कामको नियमन गरी प्रभावकारी भूमिका खेल्न सभामुख घिमिरेले आग्रह गरेका छन् ।

उनले संसद सेवाका विशिष्टीकृत क्षमता राख्ने कर्मचारीले राजनीतिक उतारचढावका बीच आफ्नो व्यावसायिक धर्म र कर्तव्य पूरा गर्न सक्ने मान्यता राखिने बताएका छन् ।

उनले भने, ‘संसद् राजनीतिको केन्द्र हो । यहाँ विचारको टकराव हुन्छ, दलगत स्वार्थका बहस हुन्छन् । यस्तो उच्च राजनीतिक तापक्रम भएको ठाउँमा कर्मचारीले बरफ जस्तै शीतल र स्थिर रहनुपर्छ ,’

‘सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ,’ घिमिरेले भने, ‘म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु, संसद् सरकारको अधीनमा रहने कुनै एउटा शाखा होइन ।’

Published : Sunday, 2025 December 14, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया