भदौ २४ गते जेनजी प्रदर्शनमा हत्या भएका हवल्दारका परिवारलाई सान्त्वना दिन घरमा पुगे आईजीपी
पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अमर प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन् ।
आइतबार आईजीपी कार्कीले प्रहरी सहायक हवल्दार गुरुङका आफन्तलाई भेट गरेका हुन् । आइतबार आईजीपी कार्कीसहितको टोली कास्कीमा रहेको स्व.गुरुङको निवासमा पुगेर परिवारसँग भेट गर्नुका साथै तस्बिरमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रहरी प्रभाग, कोटेश्वर, काठमाडौंमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार गुरुङले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा अमरत्व प्राप्त गरेका थिए । भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनका क्रममा प्रहरी सहायक हवल्दार गुरुङको प्रदर्शनकारीले हत्या गरेका थिए ।
आईजीपी कार्कीले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन र राष्ट्रका लागि प्राण उत्सर्ग गर्ने वीर सपूतको अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताएका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनले गुरुङको बलिदान कदापी नबिर्सने प्रतीज्ञा व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा अमरत्व प्राप्त गरेका कास्कीको रुपा गाउँपालिका–५, रामदी घर भएका गुरुङको जन्म वि.सं. २०५२ साल पौष १० गते भएको थियो । गुरुङ २०७० साल असोज १५ गतेदेखिबाट नेपाल प्रहरी संगठनमा आवद्ध रहेका थिए ।
प्रहरी सहायक हवल्दार गुरुङका परिवारसँगको भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुखसचिव डण्डुराज धिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेत सहभागी रहेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया