चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने पार्टी छाडे हुन्छ, त्यस्तो मान्छे आवश्यक छैन : किशोरसिंह राठौर
लमही । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने त्यस्तोले पार्टी छाडेर जान चेतावनी दिएका छन् ।
शुक्रबार दाङको देउखुरीस्थित लमहीमा कांग्रेसको लुम्बिनी प्रदेशस्तस्य संस्थापन पक्षका नेताहरूको भेलालाई सम्बोधन गर्दै राठौरले नेताहरूसँग असहमति हुन सक्ने भन्दै नेताहरूविरुद्ध अमर्यादित अभिव्यक्ति दिन नहुने बताए । उनले भने, ‘चारतारे झण्डा र रुख चिन्हसँग जसलाई असहमति छ त्यसले पार्टी छोडे हुन्छ । त्यस्तो मान्छे पार्टीमा आवश्यक्ता छैन ।’
सहमहामन्त्री राठौरले भने, ‘पार्टीभित्र असहमति राख्न पाइन्छ । म पनि संस्थापन हुन २० वर्ष लाग्यो । मैले गिरिजाप्रसाद कोइरालासँग असहमति राखेर बहुदलीय व्यवस्था आइसकेपछि असहमति राखेर राजनीति गरियो । असहमति राख्न पाइन्छ । तर, हामीले जहिले पनि अमर्यादित कुरा कहिल्यै राखेनौँ ।’
‘गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालाई हामीले अमर्यादित शब्द बोल्ने, भन्ने, सामाजिक सञ्जालमा, मिडियामा कहिल्यै भनेनौं । नेतासँग असहमति राख्न पाइन्छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो,’ राठौरले भने ।
‘चारतारे झण्डा र रुख चिन्हसँग जसलाई असहमति छ त्यसले पार्टी छोडे हुन्छ । त्यस्तो मान्छे पार्टीमा आवश्यक्ता छैन,’ उनले भने, ‘देश जलेको बेला पार्टी केन्द्रीय कार्यालयदेखि जिल्ला क्षेत्रसम्म कार्यालयहरू जलेको बेला हाम्रो पार्टीको सभापति, केन्द्रीय सदस्य डा.आरजु राणा देउवालाई हातपात भएको बेलामा पार्टीभित्र जुन किसिमको बिकृति, पार्टीलाई एकढिक्का बनाएर लिएर जानुपर्ने बेलामा पार्टीभित्र जुन असहमतिका कुरा उठेका छन् यसलाई हामीले यदि व्यवस्थित गरेर लिएर जान सकेनौँ भने भोलि नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जित्नुमात्रै ठूलो कुरा होइन त्यसलाई जितेर जसरी शेरबहादुर देउवाले पार्टीलाई सहमतिका आधारमा चलाउनु भएको थियो १३औँ अधिवेशन जितेर, १४औँ अधिवेशन जितेर गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा छोडेर गएको विजय गच्छदारलाई समेत पार्टीमा ल्याएर र समावेशी विधान बनाएर यत्रो ठूलो संख्यामा महिलाहरू केन्द्रीय सदस्य हुने अवसर भएको छ ।’
सहमहामन्त्री राठौरले भने, ‘महिला, दलित, जनजाति, आदिवासी, मधेशी, मुस्लिम, थारुलाई १३औँ अधिवेशनबाट आइसकेपछि समावेशी विधान बनाएर सबैको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व भएको छ । वडादेखि केन्द्रसम्म । त्यो शेरबहादुर देउवाको देन हो । जसरी शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर ग्रुपभित्र पनि सबैलाई एकढिक्का बनाएर लिएर जानुभएको थियो । पार्टीको १५औँ अधिवेशनबाट आउने नेतृत्वको लागि पनि यो चुनौतिको विषय हो ।’
सहमहामन्त्री राठौरले कार्यबाहक सभापति पूर्णबहादुर खड्का संस्थापन पक्षको नेता भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।
‘ग्रुपको नेतृत्व गर्छु भन्नेले पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । उहाँ पनि हाम्रो ग्रुपभित्र पर्नु हुन्छ । यो चुनौतिको विषय छ । समस्याहरू होलान् । न्याय, अन्याय भयो होला पार्टीभित्र । पार्टीभित्र, घरभित्र न्याय अन्याय हुन्छ भने पार्टीभित्र न्याय अन्याय हुने कुरा स्वभाविक हो,’ उनले भने ।
नेता राठौरले सभापति शेरबहादुर देउवासँग न्याय खोज्दै गर्दा आफूले पनि न्याय गरेको छु कि छैन भनेर हेर्नुपर्ने बताएका छन् । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गरेर थापा र शर्माबाट कति ? न्याय भएको छ भनेर प्रश्न गरेका छन् ।
‘नेताले न्याय गर्नुपर्छ भन्ने मान्यता राख्छु । हामी बाबुआमालाई छोडेर नेताको पछाडि लागेको हो । नेताले अन्याय गर्यो भने हामीले न्याय माग्ने ठाउँ हुँदैन । नेता भनेको केन्द्रीय सभापति मात्रै नेता होइन । क्रियाशील सभापतिदेखि क्रियाशील सदस्यसम्म नेता हो । वडा सभापति नेता हो । टोल सभापति नेता हो,’ राठौरले भने ।
‘न्याय चाहने मान्छेले आफूले पनि न्याय गरेको अनुभूति दिन सक्नुपर्छ । आफूले अन्याय गर्ने, क्रियाशील सदस्यले अन्याय गर्ने, वडा सभापतिले अन्याय गर्ने, क्षेत्रीय सभापतिले अन्याय गर्ने, पार्टी सभापतिले अन्याय गर्ने । केन्द्रीय सभापतिले मात्रै न्याय गरेन भन्न पाइँदैन । न्याय सबैले गर्नुपर्छ,’ उनले भने, ‘सबैले न्याय गर्न सक्यौँ भने हामीले चाहेको जस्तो पार्टी बनाउन सक्छौँ ।’
उनले भने, ‘हाम्रो यो टिममा पार्टी सभापति कम हुनुभयो भन्दैमा आत्तिनु पर्ने परिस्थिति छैन । १५औँ अधिवेशनमा लुम्बिनी प्रदेशमा यो टिमलाई कसरी बलियो बनाउने ? त्यो कुरा आज भेलामा आएका साथीहरूले संकल्प लिएर आफ्नो आफ्नो क्षेत्रमा जानको लागि अनुरोध गर्न चाहन्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया