ललितपुर- १ मा विकासप्रेमी कांग्रेस नेता महर्जनलाई कार्यकर्ताहरूबाट माग, बाध्य भएर क्षेत्रद्वारा कैफियत विवरणमा नाम सिफारिस

लगनखेल । नेपाली कांग्रेस, ललितपुर क्षेत्र नं. १ ले बागमती प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जनलाई प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाउन कार्यकर्ताहरूको माग र दवाव बढेपछि नाम खुलाएर कैफियत विवरण पठाएको छ ।

ललितपुरमा कार्यकर्ताहरूका बीच लोकप्रिय छवि बनाएका युवा नेता महर्जनलाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन स्थानीय नेता र कार्यकर्ताहरूको दवाव छ । ललितपुर क्षेत्र नं. १ ले महजर्नलाई प्रतिनिधिसभाको उम्मेदवार हेर्न चाहेको छ ।

विकासप्रेमीका साथै कार्यकर्ताहरूको लागि खम्बाको रुपमा परिचित नेता महर्जनलाई कांग्रेस केन्द्रीय कार्यालयबाट जारी भएको परिपत्र र मापदण्ड अनुसार प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गर्न मिल्दैन । किन भने महर्जन बागमती प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य (सांसद) छन् । प्रदेश सभा सांसदहरूलाई प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस नगर्न केन्द्रको निर्देशन रहे पनि ललितपुर क्षेत्र नं. १ का मतदाता र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले महजर्नलाई टिकट दिन जिल्ला, बागमती प्रदेश र केन्द्रीय नेतृत्वसँग आग्रह गरेका छन् । ललितपुरमा बसेको क्षेत्रीय कार्यसमितिको बुधबारको बैठकमा समेत प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरूले समेत युवा नेता महर्जन ललितपुर क्षेत्र नं. १ मा लोकप्रिय रहेको र महर्जनले सजिलै निर्वाचन जित्ने धारणा राखेको नेताहरूले बताएका छन् ।

पछिल्लो बस्तुस्थिति हेर्ने हो भने पनि कांग्रेसबाट ललितपुर क्षेत्र नं. १ मा महर्जनले निर्वाचन जित्ने सम्भावना छ । ललितपुर जिल्लाको दक्षिणी भेगलाई दोस्रो कर्णालीका रुपमा लिइन्छ । यो क्षेत्रको विकासमा महर्जन प्रदेशसभामा निर्वाचित भएर आएपछि बजेट, कार्यक्रम र योजनाहरू भरपूर रुपमा राखेका छन् । कतिपय योजना पूरा हुने अवस्थामा छन् । केही योजना कार्यान्वयनको चरणमा छन् । कुनै योजना टेण्डर प्रक्रिया र छनौट चरणमा छन् । खेलक्षेत्रबाट राजनीतिमा आएका महर्जनमा विकास निर्माणका कार्यहरूमा खेलाडीकै जस्तो फुर्तिलो अवस्था देखेपछि ग्रामीण र दुर्गमका कार्यकर्ताहरूले रुचाएका छन् ।

स्व.खुमबहादुर खड्काको शैलीमा नेता, कार्यकर्ताको संरक्षण र विकास कार्यक्रममा विशेष जोड दिने क्षमता राख्ने पूर्वमन्त्री महर्जनलाई ललितपुर क्षेत्र नं. १ ले प्रतिनिधि सभाको उम्मेदवारका रुपमा हेर्न चाहेको छ ।

ललितपुर क्षेत्र नं. १ ले विभिन्न नेताहरूको नाम सिफारिस गरेको छ । तर, क्षेत्रीय कार्यसमितिले युवा नेता महर्जनको माग र कार्यकर्तामाझ देखिएको लोकप्रियताका कारण कैफियतमा महर्जनको नाम राखेर पठाउन बाध्य भएको छ । क्षेत्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘आजको क्षेत्रीय कार्यसमिति बैठकमा घोषित आम निर्वाचन (फागुन २१)को सन्दर्भमा प्रतिनिधिसभा सदस्य लगायतको नाम सिफारिस गर्दैगर्दा हाल बागमती प्रदेश सभा सदस्य पूर्व युवा तथा खेलकुदमन्त्री श्री मनकृष्ण महर्जनज्यूको सिफारिस गर्न आम कार्यकर्ता, प्रतिनिधिको जोडदार माग भएको समेत र प्रतिनिधिसभा सदस्य निर्वाचित गराउन आम जनताको भावना रहेको बैठकको निष्कर्ष रहेको छ । सिफारिस भएका व्यक्तिहरू महोदय नेपाली कांग्रेस पार्टीले टिकट वितरण प्रश्चात् निर्वाचनमा अन्य सम्पूर्ण दावेदार महानुभावहरूले मन, वचन, कर्मचले पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउन लाग्ने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।’

ललितपुर क्षेत्र नं. १ मा स्थानीय नेता र कार्यकर्ताहरूको दवावलाई केन्द्रीय नेतृत्वले कसरी हेर्छ ? हेर्न बाँकी छ । महर्जन जस्ता युवाहरूको लोकप्रियतालाई कांग्रेसको माथिल्लो नेतृत्वले ध्यान दियो भने देशभरि कांग्रेसलाई कसैले पनि रोक्ने हिम्मत गर्नेछैनन् ।

Published : Thursday, 2025 December 11, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया