तुल्सीलाल स्मृति चेसमा दोलखाका दुई टिम उपाधि नजिक

कुमारीपाटी । ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको समिकरणले अन्तिम खेलबाट विजेता टोलीको छिनोफानो हुने भएको छ ।

ललितपुरको क्यास्पियन कलेजमा सञ्चालन भइरहेको राष्ट्रिय टिम चेस खेलको छैंटौं चरण शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुन पुगेको छ । प्रतियोगितामा पहिलो टेबलमा महालक्ष्मी नगरपालिका टिमलाई दोलखा चेस होम्सले २.५ – १.५ को स्कोरमा हराउन सफल भएका छन् । योसंगै दोलखा चेस होम्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईंले दोस्रो बोर्डमा सुरोज महर्जनलाई हराई १ अंक जोडे । रुपेश जैसवाल, ज्वाला इम्बुङ्ग र राजन सुवेदीले क्रमशः क्षितिज भण्डारी, कमल श्रेष्ठ र अशोक मन श्रेष्ठसँग बराबरी खेलेका छन् ।

दोस्रो टेबलमा ललितपुर महानगरपालिका टिमलाई दोलखा जिल्ला संघले समान २.५ – १.५ को स्टोरमा हराउँदै जीत हात पारेका छन् । योसंगै दोलखा जिल्ला संघ १० अंक जोडेर संयुक्त अग्रता लिएका छन् ।

स्पर्धामा दोलखा जिल्ला संघका बद्रीलाल नेपालीले चौथो बोर्डमा ललितपुरका खेलाडी धिरेन राई हराई महत्वपूर्ण १ अंक जोडेका छन् । अन्य तीन खेलाडी रिसोन थापा, कृष्ण थापा र मिलेन कुसाथाले क्रमशः पुरुषोत्तम सिलवाल, प्रकाशचन्द्र नेपाल र मुहान नरसिंह श्रेष्ठसँग बराबरी खेलेका छन् ।

यसअघि, पाँचौं चरणको खेलमा महालक्ष्मी नगरपालिकाले दोलखा जिल्ला संघसँग २–२ को बराबरी नतिजा निकालेका छन् । बोर्ड नं. १ मा क्षितिज भण्डारीले रिसोन थापालाई पराजित गर्न सफल भए । बोर्ड नं. ३ मा शैलेन्द्र न्यौपानेले मिलेन कुसाथासंग हार ब्यहोरेका छन् ।

बोर्ड नं. २ र ४ मा क्रमशः सुरज महर्जन र कृष्ण थापा तथा कमल श्रेष्ठ र बद्रीलाल नेपालीबीच खेल बराबरमा सकेको छ ।

अर्को खेलमा दोलखा चेस होम्सले ललितपुर महानगरपालिका टिमलाई ४–० को सहज जीत दर्ता गरेका छन् । दोलखा चेस होम्सका रुपेश जैसवालले पुरुषोत्तम सिलवाललाई, पुरुषोत्तम चौलागाईंले प्रकाशचन्द्र नेपाललाई, ज्वाला इम्बुङ्गले मुहान नरसिंह श्रेष्ठलाई र राजन सुवेदीले धिरेन राईलाई हराए ।

राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको तेस्रो टोलि साबिक बिजेता थापाथली चेस पार्कले ६ खेलमा चार जीत, एक बराबर र एक हारको नतिजासँगै ९ अंक बनाएका छन् ।

थापाथली चेस पार्कका सुश्रुत दहालले भक्तपुर जिल्ला बुद्धिचाल संघका राजेश कक्षपति, सुशील चौधरीले विनय थापालाई, आशिष फुयालले झिल्के मोक्ताङलाई तथा सबिनचन्द्र घिमिरेले अभय सिंह थापालाई पराजित गरेका छन् ।

प्रतियोगिताको सातौं चरणको खेल बिहीबार बिहान ९ बजे सञ्चालन हुनेछ । अन्तिम चरणको खेल पश्चात ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् ।

Published : Wednesday, 2025 December 10, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया