रोल्पामा अमरसिंह पुन एकल सिफारिस हुन नसकेपछि गगनको नामबाट आफ्नै समूहभित्र षड्यन्त्र

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले महामन्त्री गगन थापाको नाममा रोल्पा कांग्रेसभित्र जालझेलको राजनीति गरेका छन् ।

थापाको नाम रोल्पा जिल्लाबाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको सूचीमा अन्य नेताहरू सरह सिफारिस गराएर पुन चर्चामा आएका छन् । रोल्पामा सभापति पुनभन्दा युवा नेता मनोजमणि आचार्यहरू लोकप्रिय मानिन्छन् । आचार्यले प्रतिनिधिसभाको टिकट फुत्काउँछन् कि भनेर सभापति पुनले जानेरै महामन्त्री थापाको निकट हुन र आफूले टिकट लिनका लागि षड्यन्त्र गरेका हुन् । सभापति पुनको षड्यन्त्रलाई रोल्पा कांग्रेस त्यो पनि गगन समूह निकटका नेताहरूले राम्रोसँग बुझेका छन् ।

१ निर्वाचन क्षेत्र रहेको रोल्पाबाट सभापति पुन आफू उम्मेदवार बन्न चाहेका छन् । एकल र सर्वसम्मत रुपमा सभापति पुनले नाम सिफारिस गराउन नसकेपछि थापाको नाम पहिलो नम्बरमा राखेर आफूसहित अन्य नेताहरूको नाम सूचीमा राखेका छन् ।

विगतमा प्रदेश सभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्दा पनि सभापति पुन पराजित भएका थिए । पुनलाई स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनले हराइदिएका थिए । यस पटक पनि सभापति पुनले टिकट लिएर प्रतिस्पर्धा गरे भने उनको पराजय हुने निश्चित रहेको कांग्रेसका नेता, कार्यकर्ताहरूले बताएका छन् ।

२०७९ को प्रदेश सभा निर्वाचनमा पराजित भएका सभापति पुनले गगन थापाको नाममा जिल्लाका अन्य लोकप्रिय नेताहरूसँग बार्गेनिङ्ग र ब्ल्याकमेलिङ गरेका छन् ।

गगन थापालाई आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ४ मा एकल सिफारिस भएको छ । काठमाडौं ४ मा पटक पटक विजयी हुँदै आएका थापा रोल्पा जस्तो माओवादीको आधार किल्ला मानिने ठाउँमा पुगेर उम्मेदवार बन्दैनन् ।

तत्कालीन माओवादी केन्द्र हाल नेपाली कम्युनिष्ट पार्टीले आफ्नो आधार इलाका मानेको यो क्षेत्रमा ०७९ सालको प्रदेश सभाको निर्वाचनमा माओवादीसमेत ५ दलको समर्थन पाउँदा पनि अमर पुनको लज्जास्पद पराजय भएको थियो ।

रोल्पा कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका लागि नेपाली कांग्रेस महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा.मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको नेपाली कांग्रेस रोल्पाले सार्वजनिक गरेको छ ।

Published : Wednesday, 2025 December 10, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया