समयमा चुनाव गरेर गैरदलीय सरकारलाई विदा गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ
सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् ।
मंगलबार सिन्धुली उद्योग वाणिज्य संघको ३५औं साधारणसभालाई सिन्धुलीमा सम्बोधन गर्दै बानियाँले मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने बताए । उनले राजनीतिक दललाई लामो समय बाहिरराखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताए ।
उनले भने, ‘मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधि विहीन हुनु हुँदैन । समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ ।’
जनप्रतिनिधिमुलक सरकार नहुँदा के अवस्था हुनेरहेछ भन्ने हेटौंडाका व्यवसायीले भरखरै भोग्नु परेको उनले बताएका छन् । ‘जनताका प्रतिनिधिहरूको सरकार नहुँदा हेटौंडाका व्यवसायीमाथि प्रहार भयो,’ उनले भने, ‘यसअघि पनि पटक पटक सडक भत्काउने प्रयास भएको थियो । जनप्रतिनिधिमुलक सरकार लखेटेर नागरिकको नाममा गठन भएको सरकारले समाधानको बाटो नखोजी के गर्यो सबैले देखेकै छौं ।’
मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिब किसान, विपन्न नागरिकलाई केन्द्रमा राखेर अघि बढिरहेको बताएका छन् । उनले शिक्षालाई प्राविधिक सीप दिएर मुलुकमै रोजगार सिर्जना गराउन प्रयासरत रहेको बताए ।
बानियाँले प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले आगामी बजेट निर्माणको काम अघि बढ्नु अघि नै प्रस्तावहरू ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस नेता श्याम घिमिरेले धारा ७६ बाहेक अन्य कुनै पनि धाराले प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् ।
वर्तमान सरकार गैरसंवैधानिक रहेको घिमिरेले बताएका छन् । उनले संविधानको उल्लेखसमेत नगरी गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक रहेको उनले बताए ।
मुलुकमा व्यवसायिक वातावरण निर्माण हुन नसकेको भन्दै नेता घिमिरेले प्रदेश व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले दल कमजोर बनाएर मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र चलिरहेको बताए । उनले भने, ‘नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्याउन जिलेन्स्कीको खोजी भइरहेको छ । समाजमा द्वन्द्व भित्र्याउन प्रयास भइरहेको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया