नेपाल र भारतीय सेनाबीच अभ्यास सूर्य किरणको १९औँ संस्करण सम्पन्न

काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास सूर्य किरणको १९औँ संस्करण सम्पन्न भएको छ ।

मंसिर ९ गतेदेखि शुरु भएको अभ्यास २२ गते समापन भएको छ । अभ्यास सूर्य किरण वि.सं. २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यास निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट अवलोकन प्रतिनिधि टोलीको नेतृत्व गरी उपरथी अनुपजङ्ग थापा सहभागी भएका थिए ।

नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ ।

यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरूबीच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Tuesday, 2025 December 9, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया