लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनी । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न गरेको छ ।

मंगलबार लुम्बिनीमा बौद्ध दर्शन र सांस्कृतिक सम्पदामा केन्द्रित महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) श्री मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका छन् ।

कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षु तथा लुम्बिनी विकास कोषका प्रतिनिधिसहितको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महोत्सवमा भारत र नेपालका प्रसिद्ध कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण बने । भारतबाट आएको ६ सदस्यीय आईसीसीआर समूहले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गर्‍यो ।

साँझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ले परम्परागत संगीत प्रस्तुत गर्दै वातावरणलाई झनै जीवन्त बनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेज : ए कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी पनि आयोजना गरिएको छ ।

भारत तथा नेपालका ख्यातिप्राप्त बौद्ध विद्वानहरूको सहभागितामा भएको गोष्ठीले दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुदृढ पार्न बौद्ध सम्पदाको भूमिकामाथि गहन विचार–विमर्श गरेको छ ।

महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन् ।

Published : Tuesday, 2025 December 9, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया