तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडि
कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएको छ ।
सोमबार महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४–० ले पञ्छाएका थिए भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४–० को जीत नतिजा आत्मसाथ गरेका छन् ।
महालक्ष्मीका एफएम क्षितिज भण्डारीले गणेशबहादुर थापा र प्रत्युस श्रेष्ठलाई, सुरोज महर्जनले कविन्द्र शिवाकोटी र सोहम श्रेष्ठलाई, अशोक मोहन श्रेष्ठले प्रेम खड्का र अंकुर पोखरेलद्वयलाई पराजित गरेका छन् ।
महालक्ष्मीकै शैलेन्द्र न्यौपानेले श्रीयस दाहाल र कमल श्रेष्ठले गगन लावतीमाथि जीत दर्ता गरी टोलीको ४ अंक बनाएर टाइब्रेक प्वाइन्ट ८ जोडी शीर्ष स्थानमा कब्जा जमाएका छन् ।
थापाथली चेस पार्कले समान ४ अंक टाइब्रेक प्वाइन्ट ७.५ जोडेर दोस्रो स्थान सुरक्षित गरेको छ । पार्कले पहिलो चरणमा सुदूरपश्चिम चेस संघलाई ४–० तथा कास्की जिल्ला संघलाई ३.५ – ०.५ ले पञ्छाएको छ ।
थापाथली टिमका सुश्रुत दहालले महेश खड्का र सुनिलबहादुर कोइरालालाई, आशिष फुयालले भीमदत्त पाण्डे र सुशील सुवेदीलाई, सविनचन्द्र घिमिरेले जीतबहादुर कक्षपति र सागर शाहीलाई हराउन सफल भएका छन् । पार्कका सुजन काफ्लेले शिवप्रसाद पौडेल माथि जीत दर्ता गर्दै राजन पुरीसँग बराबरी खेलेका छन् ।
ललितपुर महानगरपालिका टिमले ४ अंक जोडेर टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थान सुरक्षित गरेको छ ।
ललितपुर महानगरपालिका टोलीले पहिलो चरणमा भक्तपुर जिल्ला संघलाई ३–१ तथा दोश्रो चरणमा आयोजक ललितपुर स्पोट्र्स क्लबलाई ४–० ले पराजित हराउन सफल भए ।
महानगरपालिकाका सिएमए पुरुषोत्तम सिलवालले विनय थापा र अमिन शाक्यलाई, प्रकाशचन्द्र नेपालले झिल्के मोक्तान र सानोभाइ महर्जनलाई, मोहन नरसिंह श्रेष्ठले अभय सिंह थापा र रत्न व्यञ्जनकारलाई पराजित गरे ।
महानगरका धिरेन राईले विजय महर्जनलाई पराजित गरेका छन् । सकिन महर्जन अभिक साहसँग हार ब्यहोरेका छन् ।
प्रतिस्पर्धामा दोलखा जिल्ला संघले समान ४ अंक जोडेर टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे । दोलखा चेस होम्स् ४ अंक टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौं स्थानमा छ ।
दोलखा जिल्ला संघले कोशी प्रदेशलाई ४–० तथा मध्यपुर थिमिलाई २.५ – १.५ स्कोरमा हराए । दोलखा होम्सले गोदावरी नगरपालिकलाई कठिन २.५ – १.५ तथा काठमाडौं जिल्ला संघलाई २.५ – १.५ स्टोरमा पराजित गरेको छ ।
प्रतियोगिता अघि बागमती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लामा र महानगरपालिका वडा नं २० का अध्यक्ष चन्द्र महर्जनले खेल आरम्भ गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया