सौतेनी आमाको सम्पत्तिमा सौतेनी सन्तानको पनि हक लाग्ने फैसला
काठमाडौं । सर्वोच्च अदालतले सौतेनी आमाको सम्पत्तिमा हक लाग्ने फैसला गरेको छ ।
सर्वोच्च अदालतको फैसलामा सैतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति भए पनि त्यसमा सौतेनी सन्तानको हक लाग्ने व्याख्या गरेको हो ।
सर्वाेच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सौतेनी आमाको सम्पत्तिमा सौताका सन्तानको पनि हक लाग्ने व्याख्यासहितको फैसला गरेको छ ।
शशि पराजुली उप्रेती तथा नवराज पराजुली पुनरावेदक रहेको मुद्दामा सर्वोच्चले सम्पत्तिमा सौतेनी छोराछोरीको समान हक हुने व्याख्यासहितको फैसला भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
पराजुलीले आमाबाट बकसमा पाएको सम्पत्ति सौताका छोरालाई दिन नपर्ने जिकिर गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । उनको जिकिरमा सौतेनी छोराको पनि हक लाग्ने फौसला तीनै तहका अदालतले गरेका हुन् ।
जिल्ला, उच्च र सर्वोच्च तीनै तहबाट सौतेनी छोरा राहुलको शशिले बकसबाट प्राप्त सम्पत्तिमा पनि हक लाग्ने फैसला गरेका हुन् । तीन तहका अदालतमा शशिले राहुललाई अंश दिनु नपर्ने दाबी लिएर मुद्दा दायर गरेकी थिइन् ।
नवराजले भने राहुल आफ्नो सन्तान नै नभएको जिकिर लिए पनि तीन तहका अदालतले नाता कायम हुने ठहर गरेका छन् । २०८१ चैतमा सर्वोच्चले गरेको यस्तो फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको छ ।
विमातृक सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना कानूनलेसमेत नगरेको सर्वोच्चले गरेको फैसलाको व्याख्यामा उल्लेख गरेको छ । अंशबन्डासम्बन्धी कानूनमा आमा शब्दले सौतेनी आमासमेत र छोरा शब्दले सौतेनी छोरासमेतलाई समेटेको सर्वोच्चले जनाएको छ ।
बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको पूर्ण इजलासले गरेको छ । सौतेनी छोराछोरीलाई बन्डा नलाग्ने व्यवस्था गर्नु अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानूनी व्यवस्थासमेतको विपरीत हुने अदालतको फैसलामा उल्लेख छ ।
फैसलामा भनिएको छ, ‘आमाछोरा वा सौतेनी आमाछोराबीच फरक नगरेको अवस्थामा स्त्री अंशधनको महल अन्तर्गत हुने सम्पत्ति आफ्नो हाँगातर्फका छोराछोरीलाई मात्र बन्डा लाग्ने, सौतेनी छोराछोरीलाई बन्डा नलाग्नेभन्दा समान पुस्ताका अंशियारबीच बन्डा घटीबढी हुन गई सबै अंशियारको बराबर बन्डा गर्नुपर्ने अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानूनी व्यवस्थासमेतको विपरीत हुने देखिन्छ ।’
बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पति छोराछोरीका लागि पैत्रिक हुने व्याख्या सर्वोच्चले गरेको छ । सर्वोच्च अदालतको यो पछिल्लो फैसलाले सौतेनी आमाले विभिन्न बहानामा लुकाएर राख्ने गरेको सम्पत्ति सुरक्षित रहनेछैन ।
सौतेनी आमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैत्रिक हुने तर, सौतेनीतर्फबाट जन्मेका छोराछोरीका लागि पैत्रिक नहुने भन्ने व्याख्या न्यायोचित नहुने फैसलामा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया