भ्यालेन्सिया म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान

भ्यालेन्सिया । विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी छिन् ।

सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । उनले यसै वर्ष पछिल्लो ८ महिनाभित्र पाँच वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

आइतबार उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मि.) पूरा गरेकी छिन् । गत अप्रिलमा लण्डन म्याराथन (२ः४२ः५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन् ।

लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२ः४६ः२६) मा बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन् ।

उनी विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरू सहभागीता रहेको यस म्याराथनमा ८०औं स्थान हासिल गरेकी छिन् ।

गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यही कार्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

नेपाल युके रनको पहल र प्रवर्द्धनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोट्र्स कम्युनिकेसन नेदरल्याण्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन् ।

नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन् । सन् २०१९ मा १३औं सागमा नेपालका लागि ऐतिहासिक रुपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रुपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।

मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३औं सागपछि घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन् ।

नयाँ राष्ट्रिय कीर्तिमान बनाएपछि सन्तोषीले यो कीर्तिमान सम्पूर्ण कर्मठ तथा संघर्षशील महिलाहरूप्रति समर्पित गरेकी छिन् । उनले महिला हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान तथा कार्यक्रम चलिरहेको बेला बनाएको कीर्तिमानलाई महिलाप्रति समर्पण गर्न चाहेकी हुन् ।

Published : Sunday, 2025 December 7, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया