सभापति देउवा र अध्यक्ष ओलीबीच भेटपछि कांग्रेसद्वारा सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।

आइतबार विघठित प्रतिनिधिसभाका कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट निवेदन पेश गरिएको हो ।

दुई दिन अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । देउवा र ओलीबीच भेट भएको दुई दिनपछि कांग्रेसले संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।

यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलगअलग सर्वोच्च पुगेका हुन् ।

कांग्रेसबाट पेस भएको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुनेछ ।

योसँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुई वटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधिन रहेका छन् ।

एमाले र अन्य १७ थान निवेदनमा यसअघि नै पहिलो सुनुवाइ भएको छ । कांग्रेसको रिटमा सुनुवाइ हुन बाँकी छ ।

सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ ।

कांग्रेसका तर्फबाट पेस भएको रिट पनि दर्ता भएर पहिलो सुनुवाइ हुँदै लगाइनमा राखिनेछ । सर्वोच्चले यी सबै निवेदनहरूलाई एकैपटक सुनुवाइ गरेर किनारा लगाउन सक्ने देखिन्छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलन र प्रदर्शनपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।

Published : Sunday, 2025 December 7, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया