भ्रष्टाचारी सिंहलाई भेट्न घरमै पुगे स्वच्छ छविका महामन्त्री थापा, खुल्दैछ गोप्य भेद, भ्रष्टाचारी पनि दङ्ग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारी सुरेन्द्रप्रसाद सिंहलाई उनकै घरमा पुगेर भेटघाट गरेका छन् ।

शनिबार सर्लाहीको मलंगवास्थित निवासमा पुगेर भ्रष्टाचारी सिंहलाई महामन्त्री थापाले भेट गरेका हुन् । सिंहकै निवासमा थापा र उनको समूहले भोज ग्रहण समेत गरेको छ ।

सर्वोच्च अदालतबाट समेत भ्रष्टाचारी ठहर भएका सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस महामन्त्री मेरो मित्र गगनकुमार थापा मेरो निजी निवास मलंगवामा पार्टीको नेता तथा कार्यकर्तासंग भेटघाट पश्चात पत्रकार सम्मेलन सम्पन्न गर्नु भएको छ ।’

महामन्त्री थापाले भ्रष्टाचारीलाई कांग्रेस पार्टीमा ठाउँ नरहेको र भ्रष्टाचारीहरूविरुद्ध आफू कठोर रहेको भनेर प्रतिनिधिसभाको बैठकमा समेत बोलेका थिए । पार्टीका बैठक र सार्वजनिक कार्यक्रमहरूमा भ्रष्टाचारीहरूसँग सँगत नगर्ने बताएका महामन्त्री थापाले मलंगवास्थित निवासमा पुगेर सिंहसँग बेलाबेला भेटघाट गर्दै आएका छन् । थापा र सिंहबीच के त्यस्तो सम्बन्ध छ भ्रष्टाचारी ठहर हुँदा समेत गएर भेट्ने गर्छन् । भ्रष्टाचारी सिंहलाई उनकै घरमा भेटेपछि महामन्त्री थापा निकै खुसी देखिएका छन् ।

फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन महामन्त्री थापाले सर्लाही जिल्लाबाट प्रतिस्पर्धा गर्ने चर्चा चलेको छ । भ्रष्टाचारी सिंहले नै थापालाई सर्लाहीबाट विजयी बनाएर प्रतिनिधि सभामा पठाउने भनेर आश्वासन दिएको चर्चा छ । काठमाडौं क्षेत्र नं. ४ मा पराजित हुने ठूलो खतरा रहेपछि थापाले पनि सर्लाही ताकेको चर्चा छ ।

महामन्त्री थापाले जेनजे आन्दोलनको मौका छोपेर कांग्रेसको नेतृत्व हत्याउन विशेष महाधिवेशनको माग गर्दै आएका छन् । सभापति पदमा उम्मेदवारी घोषणा गरेका थापाले पटक पटक भ्रष्टाचारीलाई भेट्ने, भ्रष्टाचारीको घरमा गएर बस्ने, भ्रष्टाचारीको घरमा पुगेर खाने गरेपछि उनका स्वच्छ छवि प्रष्ट भएर आएको छ ।

सिंह यसअघि, नेपाली कांग्रेस, सर्लाहीका सभापति समेत रहेका थिए । सर्वोच्च अदालतबाट पनि भ्रष्टाचारी ठहर भएपछि सभापति पदबाट राजीनामा दिएका छन् । राजनीतिमा दिन सर्लाही कांग्रेसका नेताहरूले पटक पटक दवाव दिनुका साथै आन्दोलन गरेपछि बाध्य भएर सिंहले सभापति पदबाट केही महिना अगाडि मात्रै राजीनामा दिएका हुन् ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सिंहविरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै भ्रष्टाचारीको फैसला गरेको थियो ।

सिंहसहितलाई विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटानसम्बन्धी मामिलामा भ्रष्टाचारी ठहर गरेको थियो ।

त्यसपछि सिंहसहितले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेषबाट मागदाबीभन्दा कम सजाय भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

यस्तोमा सिंह र अख्तियार दुवै सर्वोच्च पुगेपछि यो मुद्दा करिब १० वर्षदेखि अड्किएको थियो । यो पुनरावेदन निवेदनमा सुनुवाइका क्रममा अख्तियारले मागदाबीभन्दा कम सजाय भएको दाबीलाई सर्वोच्चले नपुग्ने ठहर गरिदिएको छ ।

विशेषको फैसलाविरुद्ध पुनरावेदन गरेका सिंहसहितको सजाय र जरिवाना केही घटाए पनि सर्वोच्चले उनीहरू सबैलाई दोषी ठहर गरेको हो ।

सिंह त्यसबेला मनुसमरा सिँचाइ आयोजना उपभोक्ता समितिको अध्यक्ष थिए । सिंहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणानिकट भनेर प्रचार गरिएको थियो । भ्रष्टाचारी ठहर भएका सिंह अखिर को निकट रहेछन् प्रष्ट भएको छ ।

सिंहले त्यसबेला सिँचाइ आयोजना क्षेत्रमा रहेका सिसौँका रुख स्थानीय प्रशासनसँगको पनि मिलेमतोमा कटान गरेर भारततर्फ बेचेको आरोप लागेको थियो । त्यही प्रकरणमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो । यस प्रकरणमा उनलाई अख्तियारले पक्राउ गरेर त्यसबेला हिरासतमा राखेको थियो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले त्यसबेलाका ठेकेदारहरू सुरेन्द्रप्रसाद सिंह र अमिरी राय यादवलाई जनही १ करोड २३ लाख ६ सय रुपियाँ ४ पैसा जरिवाना हुने फैसला गरेको थियो ।

विशेष अदालतले २०७१ पुस २५ गते अख्तियारको भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै यी दुवै ठेकेदारलाई जनही ९ महिना कैद हुने फैसला गरेको थियो ।

सर्वोच्चले विशेषको त्यही फैसलालाई केही मात्रामा सदर गरेपछि सिंहले यो मुद्दाबाट चोखिने प्रयास असफल भएको थियो ।

ठेकेदारद्वय सिंह र यादवले मनुसमारा सिँचाइ आयोजना सञ्चालन गर्दा रुखहरूले अप्ठेरो पारेको भन्दै त्यस आयोजना वरपरका १८ हजारभन्दा बढी सालका रुख कटान गरेर बेचेका थिए ।

रुख कटान गरी बेचेपछि आम्दानी भएको रकममध्ये केही सरकारी खातामा जम्मा गरिएको थियो । उक्त आम्दानीको अधिकांश रकम दुवैजनाले आफैं लिएर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको थियो ।

Published : Sunday, 2025 December 7, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया