जसरी गीता, कुरान, बाईबल पुरानो हुँदैन, त्यसैगरी कांग्रेस पनि पुरानो हुँदैन, डगमगायो भने देश दुर्घटनामा जान सक्छ : योगेन्द्र चौधरी

बगरापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देश कठिन अवस्थाबाट गुज्रीरहेको भन्दै ईतिहाँसको यो कठिन अवस्थामा कांग्रेसले देशलाई सहि दिशा दिने बेला आएको बताएका छन् ।

शनिबार दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ६ सगरापुरमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले भने, ‘कठिन समयबाट देश गुज्रीरहेको छ । ईतिहाँस हेर्ने हो भने नेपाली कांग्रेसले मुलुकलाई कठिन परिस्थितिमा निकास दिएको छ ।’

‘फेरि यो कठिन परिस्थितिबाट देशलाई निकास दिनका लागि तपाईहरूको साथ र भरोसा चाहियो,’ पूर्वसांसद समेत रहेका केन्द्रीय सदस्य चौधरीले भने, ‘नेपाली कांग्रेस डगमगायो भने यो देश धेरै ठूलो दुर्घटनामा जान सक्छ ।’

नेता चौधरीले भने, ‘तपाई, हामीले बनाएको संविधान नै नरहन सक्छ । नागरिकको अधिकार नै नरहन सक्छ । यो विषम परिस्थितिमा जनताको साथ नेपाली कांग्रेसलाई चाहिएको छ ।’

कांग्रेस र कांग्रेसका नेताहरूका विषयमा केही व्यक्तिले नेताहरूको घरमा पैसा भेटियो भनेर २÷४ वटा भिडियो बनाएर चरित्रहत्या गर्ने कार्य भएको बताए । कांग्रेस जहिले पनि सुशासनको पक्षमा उभिएको पार्टी भएको भन्दै नेता चौधरीले कुनै नेताहरूले गल्ती गर्छ भने कानून बमोजिम कारबाही हुनुर्ने बताए । तर, चरित्रहत्या गर्ने कार्य कसैले पनि गर्न नहुने उनले बताएका छन् । कांग्रेसलाई पुरानो पार्टी भनेर जसरी प्रचार गरिएको सो कार्यको पनि चौधरीले विरोध गरेका छन् ।

‘पैसाको कुरा ल्याएर कांग्रेस भ्रष्ट हो, पुरानो हो भन्नेछ । पार्टी पुरानो हुँदैन । पार्टी पुरानो हुन्थ्यो भने गीता, कुरान, बाईबल पनि पुरानो हुन्थ्यो । पार्टीको दस्तावेज कहिल्यै पुरानो हुँदैन, पार्टी कहिल्यै पुरानो हुँदैन । यदि पार्टी पुरानो हुने हो भने गीता, कुरान, बाईबल पनि पुरानो भएर काम नलाग्ने हुनु पर्ने थियो तर, त्यो अहिले पनि हाम्रो दर्शन हो, समाज त्यहीँबाट चलिरहेको छ,’ कांग्रेस नेता चौधरीले भने ।

‘नेपाली कांग्रेस पुरानो पार्टी हो भनेर कसैले भन्छ भने कोही पनि भ्रमित हुनु हुँदैन । हामी कानूनी राज्यको वकालत गर्छौं । जसरी सामाजिक सञ्जालमा कांग्रेसका नेताहरूको घरमा पैसा देखियो भनेर भनिएको छ,’ उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन नेपाली कांग्रेसले गरेको हो । अहिले पनि कांग्रेस, एमाले, माओवादीका नेताहरूले अकुत कमाएका छन् भने कानून बमोजिम कारबाही होस् । हामी उनीहरूलाई बचाउनु पर्छ भनेर भन्दैनौँ ।’

‘भ्रमित कुरा गर्नु हुँदैन । दुई वटा भिडियो बनाउन, चार वटा भिडियो बनाउने अनि म नेता हुँ भनेर भ्रमित गर्न मानिसहरू आउँछन् । हामी जनताको जीवन बदल्नका लागि अनुहार बदल्नका लागि हामी राजनीतिमा लागेका हौँ । भरखर आएका मान्छेहरू जसले समाज बुझेको छैन, त्यसले दुई वटा भिडियो सामाजिक सञ्जालमा भ्युजका लागि हालेकै भरमा राजनीतिमा आउने कुरा दुर्भाग्य हुन्छ,’ नेता चौधरीले भने ।

‘कठिनको समयमा नेपाली कांग्रेसलाई विश्वास गरेर पार्टी प्रवेश गर्नुभएको छ । तपाईहरूका कारण कांग्रेसलाई मनोवल बढेको छ,’ नेता चौधरीले भने ।

राप्ती गाउँपालिका वडा नं. ६ बगरापुर निवासी तत्कालीन नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता दीपक चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दीपक चौधरीसहित एक सयभन्दा धेरै माओवादीका नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरीले बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद सुशीला चौधरी, दाङ कांग्रेसका सभापति शंकर डाँगी, क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, लुम्बिनी प्रदेश कांग्रेसका सदस्य देवनारायण चौधरी, पूर्व वडाध्यक्ष गोवर्धन रावत लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2025 December 6, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया