आइटिएफ जे३० मा युल र शिवालीलाई दोहोरो उपाधि
पोखरा । कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गर्ल्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् ।
डबल्सतर्फ पनि युल र शिवाली दुबै विजेता बने । ब्वाइज डबल्समा कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्यो । गर्ल्स डबल्समा शिवाली गुरुङ र के–ची सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि चुमे ।
पहिलो सर्किट अन्तर्गतका विजेताहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस संघका निवर्तमान अध्यक्ष लोकबहादुर गुरुङ, सल्लाहकारद्वय गोपी भट्टराई र सूर्यबहादुर भुजेल, प्रथम उपाध्यक्ष नवीन चालिसे र द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, सचिव भीष्मराज पौडेललगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार पहिलो सर्किट शनिबार सम्पन्न भएसँगै दोस्रो सर्किटको क्वालिफायर राउन्ड शनिबारबाटै सुरु भइसकेको छ । मुख्य खेलहरू सोमबारबाट सुरु हुनेछन् ।
नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंकसमेत प्राप्त गरेकी छन् । उनी अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडीसमेत बन्नेछिन् ।
मंसिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ जना खेलाडी सहभागी छन् ।
नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरूको उपस्थिति रहेको छ ।
१३ देखि १८ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगितामा सिंगल्स विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनलिस्टले ५ र प्रि–क्वार्टरफाइनलिस्टले २ अंक प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्ने व्यवस्था छ ।
ब्वाइज र गर्ल्स सिंगल्स तथा डबल्स गरी चार इभेन्टमा सञ्चालन भइरहेको प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिस संघका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया