प्रधानमन्त्री, कांग्रेससहितका राजनीतिक दलहरू र सुरक्षा निकायका प्रमुखबीच छलफल

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरू, सुरक्षा निकायका प्रमुख लगायतलाई सँगै राखेर प्रतिनिधिसभाको निर्वाचनका विषयमा छलफल गरेकी छिन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्कीले नेपाली कांग्रेस, एमाले लगायतका राजनीतिक दल तथा सुरक्षा निकायका प्रमुखहरूलाई सँगै राखेर परामर्श गरेकी हुन् । उनले तोकिएको समयमा निर्वाचन हुने र सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।

निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचन तयारीमा दलहरु र सरकारले सोचेभन्दा निकै अघि बढेको ब्रिफिङ गरेका थिए । त्यस्तै सुरक्षा निकायले पनि निर्वाचनलाई असर पार्ने सुरक्षा थ्रेटको पहिचान गरिसकेकोले सन्देह नगर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री कार्कीले २१ फागुनमा निर्वाचन गर्न सरकार पछि नहट्ने अवस्थामा रहेको भन्दै दलहरुसँग सहयोग माग गरेकी छिन् ।

प्रधानमन्त्री कार्की र राजनीति दलहरूको सर्वपक्षीय बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल, नेपाल सेनाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

बैठकमा एमाले, कांग्रेस, रास्वपा र राप्रपासहितले निर्वाचनमा भाग लिन आफूहरु तयार रहेको तर सुरक्षा र भयरहित रुपमा मतदान गर्ने अवस्था बनाउन माग गरेका थिए ।

Published : Friday, 2025 December 5, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया