क्रियाशील सदस्यता वितरणमा भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्ने निर्णय, समितिद्वारा गम्भीर परामर्श

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग क्रियाशील सदस्यता नवीकरण एवम् नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गरेको छ ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा समितिका पदाधिकारीले भ्रातृ संस्था र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो । समितिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूलाई क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा परिचालन गर्ने विषयमा छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवाले समितिको दैनिक कार्यसम्पादनबारे जानकारी लिदै आएका छन् । तोकिएको समयमा महाधिवेशन गर्न सबैभन्दा पहिला क्रियाशील सदस्यताको समस्या समाधान आवश्यक छ । सोही कारण सभापति देउवाले संयोजक समेत रहेका महामन्त्री थापासँग दैनिक रुपमा प्रगति विवरण माग गर्दै आएका छन् ।

भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूसँगको छलफलका विषयमा समितिका एक सदस्यले भने, ‘विभिन्न शुभेच्छुक र भ्रातृ संस्थाहरूको संयोजक र नेताहरूसँग छलफल भयौँ । ती क्लष्टरहरूमा कसरी क्रियाशील सदस्यता बनाउन सकिन्छ ? भन्ने विषयमा तपाईहरूको भूमिकाको पनि आवश्यक्ता छभन्ने कुरा हामीले भन्यौँ । तपाईहरूले सहयोग गरिदिनुस् भन्यौँ ।’

‘तामाङ, दलित, थारु लगायतका प्रतिनिधि आउनु भएको थियो । यही क्लष्टरमा क्रियाशील सदस्य थोरै छन् । यहि क्लष्टरमा कसरी संख्या वृद्धि गर्न सकिन्छ ? भन्ने कुरामा तपाईहरू पनि सक्रिय रुपमा आफ्नो तहगत संरचनामा सर्कुलर गरिदिनुस् भनेका छौँ । उनीहरूका पनि केही सुझावहरू आएका छन्,’ समितिका ती सदस्यले भने ।

‘हामीमार्फत पनि केही क्रियाशील फारम जाने व्यवस्था बनाइदिएको भए सजिलो हुने थियो भन्ने उहाँहरूको माग थियो । यी सबै कुराहरूमा हामी प्रक्रिया भन्दा बाहिर जान सक्दैनौँ । जुन प्रक्रिया छ त्यो प्रक्रिया अवलम्बन हुँदा तपाईहरू सक्रियता पूर्वक लागिदिनुस् त्यसले पनि संख्या वृद्धि गर्छ भनेका छौँ,’ समितिका ती सदस्यले भने ।

‘उहाँहरूको राम्रो सुझाव के आयो भने कम्तिमा हामीले सिफारिस गरेको व्यक्तिहरूलाई क्रियाशील नछुटाइदिने भन्ने कुरा तहगत संरचनामा सर्कुलर गरिदिनुभयो भने पनि हामीलाई सहयोग पुग्छ थप्नलाई दलित संघ, थारु संघले सिफारिस गरेको क्रियाशील छुटाइदिनु भएन भने त्यसरी पनि वृद्धि गर्न सकिन्छ । मान्छे थप गर्न सकिन्छ भन्ने कुरा भयो,’ ती सदस्यले भने ।

नेपाल तामाङ संघका प्रतिनिधिहरूले अहिले खुलेका विभिन्न राजनीतिक दलहरूले आदिवासी जनजातिहरूलाई तान्नका लागि विभिन्न खालका प्रलोभन दिएको बताएका छन् । नयाँ पार्टीहरूले सबै आदिवासी, जनजातिलाई सबैलाई पद दिने अवस्था रहेको भन्दै तामाङ नेताहरूले आदिवासी, जनजातिलाई क्रियाशील सदस्यता दिनुपर्ने बताएका ती सदस्यले बताए ।

दलित समुदायहरूको पार्टी नै अहिले खुलेको भन्दै दलितहरूलाई पनि धेरैभन्दा धेरै क्रियाशील सदस्यता दिनुपर्ने सुझाव समितिमा आएको छ । दलितहरूलाई कांग्रेसमा आकर्षण छभन्ने कुराको सन्देश दिनुपर्ने सुझाव आएको छ ।

नेपाल तरुण दलले नयाँ क्रियाशील सदस्यतामा युवाहरूलाई धेरैभन्दा धेरै परिचालन गर्ने जनाएको छ । युवाहरूको संख्या बढाउने कुरामा तरुण दल उत्साहित रहेको जनाएको ती सदस्यले बताए ।

महामन्त्री गगन थापा नेतृत्वको समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् । समितिले क्रियाशील सदस्यताको समस्या समाधानका लागि गृहकार्य गर्दै आएको छ ।

समितिसँगको छलफलमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल दलित संघ, नेपाल थारु संघ, नेपाल तामाङ संघ लगायतका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 December 5, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया