जेनजीका अगुवा सुधन गुरुङद्वारा ठग र संगठित अपराधका अभियुक्तसँग जेलभित्रै भेट

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेता, पूर्वसांसद, एनजीओ, पूर्व प्रहरी, सञ्चारकर्मी लगायतले भेट गरेर न्यायालयमा बिचारधीन विषयलाई प्रभावित तुल्याउने गरेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका कानून बमोजिम थुनामा पठाएको छ । न्यायालयको कानूनी प्रक्रियामाथि प्रश्न उठाउँदै लामिछानेलाई जेलबाट भेटेर आउनेहरूले जथाभावी अभिव्यक्तिहरू दिइरहेका छन् । यो अभिव्यक्ति र गतिविधिले न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि गम्भीर प्रहार भएको छ । न्यायालयको फैसला वा आदेशमा चित्त बुझेन भने माथिल्लो अदालतमा जाने अधिकार रहन्छ । तर, लामिछाने निर्दोष र फसाइयो भन्ने जसरी भाष्य निर्माण गर्न खोजिएको छ त्यसले न्यायालयमाथि प्रहार भइरहेको छ । न्यायालयको प्रक्रियालाई पूरा नहुँदासम्म सबैले मान्नुपर्छ ।

लामिछानेलाई भेटेर आउनेहरूका अभिव्यक्तिले झन् विभिन्न आशंकाहरू उब्जाएको छ । जेलभित्र पुर्पक्षमा बसेको व्यक्तिले जसरी मिडिया, सामाजिक सञ्जाल र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई प्रयोग गरिरहेको छ जेलबाट बाहिर आयो भने केसम्म गर्न सक्छ ? भन्ने गम्भीर प्रश्न उठाएको छ ।

रास्वपाका सभापति लामिछाने निर्दोष रहेछन् भने न्यायालयले सफाइ दिनेछ । होइन भने कानून बमोजिम दण्ड, जरिवाना र सजाय तोक्नेछ ।

नेपाली कांग्रेसका निवर्तमान सांसद समेत रहेका मेडिकल व्यवसायी सुनिल शर्मा, हामी नेपाल नामक एनजीओका प्रमुख एवम् जेनजी प्रदर्शनका अगुवा सुधन गुरुङ, सञ्चारकर्मी प्रकाश सुवेदी लगायतले लामिछानेलाई जेलभित्र गएर भेट गरेका छन् ।

उनीहरूले लामिछानेलाई किन भेट गरेका हुन् ? उनीहरूको उद्देश्य के छ ? सबैलाई प्रष्ट थाहा छ । लामिछानेले पनि रास्वपाको सभापति पदलाई आफूसँगै नख्खु जेलमा राखेर राजनीति गर्ने प्रयास गरिहेका छन् ।

रास्वपाका सभापति लामिछाने लोकप्रिय छन् भन्दैमा कानून र संविधानले उनलाई फरक सुविधा दिँदैन । कानून सबैका लागि बराबरी हो । लामिछानेका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा न्यायालयमा विचाराधीन विषयमा ख्याल राखेर बोल्दा उचित हुनेछ ।

जेनजी आन्दोलनको अगुवा ठान्ने सुधन गुरुङहरूले के बुझ्न जरुरी छभने सहकारी ठग र संगठित अपराधका अभियुक्तलाई जेलभित्र गएर भेट्दा त्यसको के असर पर्छ भन्ने ध्यान दिनुपर्छ । जेनजी आन्दोलनको माग सहकारी ठग र संगठित अपराधका अभियुक्तका पक्षमा थिएन ।

गुरुङले बिहीबार नख्खु जेलमा पुगेर लामिछानेलाई भेट गरेपछि भदौ २४ गते जेल फोडेर लामिछानेसहित देशभरिका अपराधीहरूलाई भगाउन मुख्य भूमिका थियो कि ? भन्ने प्रश्न पनि उठेको छ ।

Published : Friday, 2025 December 5, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया