क्रियाशील सदस्यता जम्मा १६ जिल्लाले बुझाए, जिल्लाहरूलाई नै पासवर्ड दिने गगन समितिमा सहमति

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले मंसिर २१ गतेसम्म क्रियाशील सदस्यताको नयाँ फारम कहाँ कहाँ कसरी पठाउने भन्ने विषयमा समीक्षा गरेको छ ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको समितिको बैठकमा मंसिर २१ गतेभित्र क्रियाशील सदस्यताको फारम पठाउने तयारीका विषयमा छलफल भएको स्रोतले जनाएको छ । महामन्त्री गगन थापा नेतृत्वको समितिले विगत दुई वर्षदेखि क्रियाशील सदस्यता विवादको समाधान गर्न सकेको छैन ।

समितिका एक सदस्यले भने, ‘क्रियाशील सदस्यताको नयाँ फारम मंसिर २१ गतेसम्म पठाउने विषयमा अपडेट लिने काम भयो । मंसिर २१ गतेसम्म नयाँ फारम पुग्नुपर्नेछ । त्यसको तयारी के भयो भन्ने विषयमा छलफल भएको छ ।’

‘क्रियाशील सदस्यताको नयाँ फारमहरू कहाँ कहाँ पुग्यो ? नवीकरण कुरा पनि कहाँ टुंगियो, कहाँ बाँकी छ ? भन्ने विषयमा अपडेट लिने काम भएको छ,’ ती सदस्यले भने, ‘हालसम्म जम्मा १६ जिल्लाको क्रियाशील सदस्यताको फारम आएको रहेको छ ।’

समितिका ती सदस्यले भने, ‘अब सम्बन्धित जिल्लालाई पासवर्ड दिएर अपलोड गर्ने अधिकार दिने सहमति बनेको छ । तोकिएको समयभित्र क्रियाशील सदस्यताको नवीकरणको अपेक्षा लिएका छौँ ।’

महामन्त्री थापा नेतृत्वको समितिको सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली रहेका छन् । यो समितिले क्रियाशील सदस्यता विवाद समाधानका लागि प्रयास र पहलहरू गरिरहेको छ ।

Published : Thursday, 2025 December 4, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया