कांग्रेसको क्रियाशील सदस्यता २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा पठाउने, भ्रातृ संस्थाका प्रमुखसँग छलफल गर्ने
काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले मंसिर २० गतेभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फारम पठाउने सहमति गर्दै भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको समितिको बैठकले क्षेत्रीय सभापतिहरूलाई फारम पठाउने निर्णय भएको एक सदस्यले बताए । महामन्त्री गगन थापाको संयोजकत्वको समितिले क्रियाशील सदस्यताको विवादलाई समाधान गर्न सकेको छैन ।
समितिका एक सदस्यले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयानुसार मंसिर २० गतेसम्ममा १६५ निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको फारम पठाइसक्नुपर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने भन्ने सहमति भयो ।’
‘क्षेत्रीय सभापतिहरू नै बुझ्नुपर्ने विधानको व्यवस्था बमोजिम बुझाउने सहमति भयो,’ ती सदस्यले भने, ‘१५औँ महाधिवेशनमा भाग लिने गरी १४औँ महाधिवेशनमा जे निर्णय भएको थियो, पैसा तिरिसकेका हकमा त्यसलाई ईन्ट्री गर्ने र नवीकरणको लागि जिल्लामा पठाउने सहमति भएको छ ।’
समितिका सदस्यले भने, ‘आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेशी, थारुको क्लष्टरलाई ध्यान दिँदै सम्बन्धित क्लष्टरलाई क्रियाशील बढाउनको लागि भ्रातृ संस्था र शुभेच्छुक संस्थाका केही प्रमुखहरूसँग पुस ११ गते बैठक बसेर पार्टी कार्यालयमा पुनः बैठक बस्ने र तिनीहरूलाई परिचालन गर्ने सहमति भएको छ ।’
‘सम्बन्धित वडामा कुन क्लष्टरको जनसंख्या कति छ ? नेपाली कांग्रेसभित्र कुन क्लष्टरको संख्या कति छ ? यदि जनसंख्याको अनुपातमा क्लष्टरले कम क्रियाशील पाएको छभने तिनीहरूलाई नै धेरै प्राथमिकतामा राखेर क्रियाशील वितरण गर्ने भन्न विषयमा पत्राचार गर्ने सहमति भएको छ,’ ती सदस्यले भनेका छन् ।
समितिको संयोजक महामन्त्री थापा छन् । सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया