जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नको सुनसरी कांग्रेसले सदस्यता नवीकरण नगर्ने

इटहरी । नेपाली कांग्रेस, सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुनसरीको बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावाली संकलन नगर्न सकुर्लर गर्ने र त्यसपछि प्राप्त नामावालीका आधारमा नवीकरण नगर्ने निर्णय गरेको जिल्ला सभापति केदार भण्डारीले बताए ।

सभापति भण्डारीले जिल्लाभर जुनसुकै स्थानमा आन्दोलनमा सहभागी भएर आगजनी, तोडफोड र लुटपाट गर्ने कार्य अपराधिक भएकाले पार्टीलाई परिमार्जित र रुपान्तरण गरेर लैजान बताए ।

जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्य समितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सुनसरी कांग्रेसले गलत व्यक्तिलाई पार्टीले संरक्षण नगर्ने जनाएको छ ।

सुनसरीमा जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो । निजी क्षेत्रको क्षतिको अहिलेसम्म विवरण संकलन हुन सकेको छैन ।

जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपियाँको क्षति भएको जिल्ला प्रशासन कार्यालयको रकेर्डमा उल्लेख छ ।

जेनजी आन्दोलनका क्रममा कांग्रेसबाट विजयी इटहरीका मेयर हेमकर्ण पौडेलको अढाई तले पक्की घर आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीको इटहरीमै रहेको घरमा सामान्य क्षति पुगेको थियो ।

धरानमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो । धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनोज मेन्याङ्वो, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ्लगायतको घरमा तोडफोड भएको थियो । पूर्वमेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो ।

आन्दोलनका क्रममा कांग्रेससबाट विजयी कोशी गाउँपालिका अध्यक्ष अयूव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी गरिएको थियो । इनरुवाका मेयर एवम् कांग्रेस जिल्ला सभापति केदार भण्डारीको घरमा आगजनी गरिएको थियो ।

प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद एवम् एमाले नेता भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा क्षति पु¥याएका थिए । धरान र इटहरीमा भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो ।

Published : Wednesday, 2025 December 3, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया