ट्रंग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि

काठमाडौं । ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर स्कूल चेस च्याम्पियनसिपमा भारतका एआइएम दीपञ्जली श्रीवास्तवले अग्रता लिएकी छिन् ।

काठमाडौं बुधबार सम्पन्न तीन चरणको खेलमा युवा १० वर्ष छात्रातर्फ पूर्ण ३ अंक प्राप्त गर्दै दीपञ्जलीसँगै नेपालका अग्रता आचार्य, शुभश्री श्रेष्ठ र सरमिना श्रेष्ठले संयुक्त लिड लिएका छन् ।

प्रतिस्पर्धामा युवा १३ वर्ष छात्रातर्फ ११ जना खेलाडीले संयुक्त अग्रता लिएका छन् । विश्व निकेतन स्कुलका उज्जीभनी कँडेल, ग्रीनल्यान्ड स्कुलका आरिभ रावल, टीआइएका सोनालिका सराफ, मार्बलस स्कुलका निहाना श्रेष्ठ लगायतले लिड लिएका छन् ।

युवा १७ वर्ष छात्रातर्फ अक्स्फोर्ड स्कूलका प्रतिमा बाँस्कोटा, भक्तपुरका श्रेषा दुवाल, कीर्तिपुरका एञ्जल महर्जन, केएमसी स्कुलका विनायक गौतम र सन् श्रेष्ठले संयुक्त लिड लिएका छन् ।

दुई चरणको खेलमा युवा १० वर्ष छात्रतर्फ नेपालका स्वर्णिम बम, टीआइएका अभय लामिछाने, भारतका मानसले अग्रता बनाएका छन् ।

युवा १३ वर्ष छात्रतर्फ ग्लोबल एकेडेमी झापाका श्रृयष चौलागाईं, सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु, पुष्पसदन स्कूलका हार्दिक पन्त अगाडि रहेका छन् ।

युवा १७ वर्षमाथि छात्रतर्फ एनआइसी एकेडेमीका रशेष महर्जन, मोडर्न इण्डियन स्कूलका आशिष गुप्ता, नेपालकै आयुष सिंह अगाडि छन् ।

टालेण्ट हण्ट नवप्रतिभा खेलाडी खोज गर्ने अभिप्रायले आयोजना गरिएको यस प्रतियोगितामा युवा १० वर्ष, युवा १३ वर्ष र युवा १७ वर्ष गरी जम्मा ६ विधाका छात्र–छात्रा प्रतिस्पर्धामा उत्रेका छन् ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित स्टार होटल रोयल आस्टोरियामा १७ गतेदेखि १९ गतेसम्म तीन दिन अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ ।

स्पर्धामा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक विधाका विजयी छात्र र छात्रा विद्यार्थी खेलाडीहरूले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पुरस्कार तथा शिल्ड, पदक र प्रमाणपत्र हात पार्ने छन् ।

जम्मा ५५० विद्यार्थी सहभागी भएको हरेक विधाका विजयी खेलाडीहरूलाई नगद ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको कूल पुरस्कार ३ लाख रहेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले प्रतियोगिताको उदघाटन गरेका थिए ।

प्रतियोगिताका प्रमुख निर्णायक मिशन बास्कोटाले क्लासिकल चेस अन्तर्राष्ट्रिय स्वीस लिग प्रणालीको नियमका आधारमा स्वीस मानेजर सफ्टवेयर प्रयोग गरि खेलाएको बताएका छन् ।

Published : Wednesday, 2025 December 3, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया