अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मानका साथ समान अवसरमा बाँच्न पाउनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै संविधानले सुनिश्चित गरेका समान अधिकारहरूलाई निरन्तर संरक्षण गरेको जनाएको छ ।

बुधबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना सन्देश दिँदै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सबै अपाङ्गता भएका नागरिक, उनीहरूका परिवारजन, सरोकारवाला, सम्बन्धित संघ–संस्थाहरू तथा अधिकार–अभियानमा समर्पित सबै अभियान्ताहरूप्रति हार्दिक सम्मान प्रकट गरेको जनाएका छन् ।

‘यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले हामीलाई वास्तविक समावेशी समाज निर्माणतर्फ उन्मुख हुन र सामाजिक प्रगतिलाई थप सबल बनाउन उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

‘नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशिता लगायतका सवालहरूलाई नेपाली कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको छ,’ कांग्रेसले भनेको छ ।

‘संविधान निर्माणको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई संस्थागत गर्न नेपाली कांग्रेसले निर्वाह गरेको अग्रणी भूमिकालाई म यहाँ स्मरण गर्न चाहन्छु,’ खड्काले भने ।

‘पार्टीको विधान तथा नीतिले स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने हाम्रो प्रतिबद्धता दृढ छ ।’

‘शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र सामाजिक जीवनका सबै क्षेत्रमा अपाङ्गता भएका नागरिकको सहज पहुँच, क्षमता र आवश्यकता अनुसारका अवसर, पहुँचयुक्त भौतिक संरचना तथा दिगो सहायक सेवा सुविधाहरू आजका प्रमुख आवश्यकता हुन्,’ कार्यबाहक सभापति खड्काले भने ।

‘अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मानका साथ समान अवसर र सुरक्षित वातावरणमा बाँच्न पाउनु सरकार तथा राजनीतिक दलको साझा दायित्व हो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले आवश्यक अवसर र वातावरण निर्माण गर्न सके, अपाङ्गता भएका नागरिकहरूले राष्ट्रका सबै क्षेत्रमा उत्कृष्ट र प्रेरणादायी योगदान दिन सक्नेछन् ।’

खड्काले भने, ‘नेपाली कांग्रेस समावेशिता, समान अवसर, मानव–अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिरहनेछ ।’

‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्बन्धित संघ–संस्थाहरू तथा अधिकार–अभियानमा समर्पित सबै अभियान्ताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ कार्यबाहक सभापति खड्काले भने ।

Published : Wednesday, 2025 December 3, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया