ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय चेस च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ ।

ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपाल, भारत र श्रीलंका गरि तीन राष्ट्रका ४४५ विद्यार्थीको सहभागिता रहनेछ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित स्टार होटल रोयल आस्टोरियामा १७ गतेदेखि १९ गतेसम्म तीन दिन सञ्चालन हुनेछ ।

विद्यार्थीबीच चेस खेलको नवप्रतिभा खेलाडी खोज गर्ने अभिप्रायले आयोजना गरिएको यस प्रतियोगितामा युवा १० वर्ष, युवा १३ वर्ष र युवा १७ वर्ष गरी जम्मा ६ विधाका छात्रछात्रा प्रतिस्पर्धामा उत्रने छन् ।

स्पर्धामा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक विधाका विजयी छात्र र छात्रा विद्यार्थी खेलाडीहरूले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पुरस्कार तथा शिल्ड, पदक र प्रमाणपत्र हात पार्ने छन् ।

हरेक विधामा नगद ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको कूल ३ लाख पुरस्कार सहित आवास एवं खाना गरि २० लाख खर्च हुने अनुमान गरिएको छ ।

टिआइएका प्रिन्सिपल नीरा प्रधानले विदेशी चेस खेलाडी सहित नेपालका ७ प्रदेशवाट पनि विद्यार्थी सहभागी गरि आयोजना गर्न पाउनु प्रतियोगिता स्वयं मै उपलब्धि भएको जानकारी गराएका छन् ।

विद्यार्थी खेलाडीले सर्वाधिक पुरस्कार धनराशीको प्रतियोगितामा सहभागी हुन पाउनु चेस प्रोफेसनलतर्फ अग्रसर भएको सीइओ कर्मा सोनाम वाङ्दी शेर्पाले बताए ।

प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघ अध्यक्ष हेराकाजी महर्जन एवं पुरस्कार वितरण तथा समापन खेलकुदमन्त्री बब्लु गुप्ताले गर्ने तय भएको संयोजक उज्जवल रिजालले जानकारी गराए ।

प्रतियोगिताका प्रमुख निर्णायक मिशन बास्कोटाका अनुसार स्पर्धा अन्तर्राष्ट्रिय स्वीस लिग प्रणालीको नियमका आधारमा स्वीस मानेजर सफ्टवेयर प्रयोग गरिनेछ ।

प्रतियोगिताको मिडिया पार्टनर प्राइम टेलिभिजन तथा बुद्धिचाल महासंघ प्रचार विभागले संप्रेषण गर्नेछ ।

Published : Tuesday, 2025 December 2, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया