गगन–विश्वले धम्कीपूर्ण भाषा बोल्नु भनेको पद जाला भन्ने त्रासले हो : कल्याण गुरुङ

कल्याण गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

आदरणीय कार्यवाहक सभापति श्री पूर्णबहादुर खडकाज्यूको सभापतित्वमा २०८२ मंसिर १५ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले सर्वसम्मतरुपमा विधानको धारा १७(१) अनुसार नियमित १५ औं महाधिवेशन २०८२ पुष २६, २७ र २८ गते गर्ने निर्णय गरिसकेको छ ।

यो निर्णय स्वागतयोग्य छ र यसको म हार्दिक स्वागत गर्न चाहन्छु । यसैले पार्टीका सबैजना एकताबद्ध भएर तन, मन र बचनले दत्तचित्त भएर १५औं महाधिवेशन तोकिएको मितिमा नै सफल पार्न काम गरौं ।

पार्टीको १५औं महाधिवेशन तोकिएको मिति २०८२ पुष २६, २७ र २८ गते भव्यतापूर्वक सम्पन्न गर्न आफ्नो सम्पूर्ण दक्षता, क्षमता र सक्रियताका साथ हामी सबैले निरन्तर काम गरौं ।

महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नै पर्ने जिम्मेवारी हामी सबैको कांधमा आएको छ । यो जिम्मेवारी र कर्तव्य हामीले पूरा गर्नै पर्छ । कम्तिमा अबको दुई महिना भाषण होइन, काम, काम र काम मात्रै गरौं ।

पार्टीलाई एकताबद्ध बनाउने आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूको अथक मेहनत, कार्यवाहक सभापति श्री पूर्णबहादुर खडकाज्यूको निरन्तरको संवाद र भिन्न मतहरूले आदरणीय सभापतिज्यूको पवित्र र कंचन उद्देश्यप्रति गहिरो विश्वास गरेर आफ्नो भिन्न मतहरूलाई थाँती राखेर भएको सहमतिले सर्वसम्मतरुपमा नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले विधानको धारा १७(१) अनुसार सर्वसम्मत नियमित १५औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

पार्टीको विधानको धारा १७(१) अनुसार सर्वसम्मत नियमित १५औं महाधिवेशनको निर्णय भईसकेको कारणले विधानको धारा १७(२) अन्तर्गत माग गरिएको विशेष महाधिवेशनको पत्रको वैधानिक र राजनीतिक सान्दर्भिकता, आवश्यकता र औचित्य नै पूर्णरुपमा समाप्त भई सक्यो । विशेष महाधिवेशनको पत्र नै निष्क्रिय र निस्तेज भई सक्यो ।

१. २०८२ पुष २६, २७ र २८ गते नियमित १५औं महाधिवेशन गर्ने निर्णय भई सकेको कारणले विशेष महाधिवेशनको हस्ताक्षरको पत्रको स्वतः वैधानिक र राजनीतिक सान्दर्भिकता, आवश्यकता र औचित्य नै पूर्णरुपले समाप्त भई सक्यो ।

२. २०८२ पुष २६, २७ र २८ गते नियमित १५औं महाधिवेशन गर्ने निर्णय भइसकेको कारणले विशेष महाधिवेशनको पत्र नै पूर्णरुपले स्वतः निष्क्रिय र निस्तेज भई सक्यो ।

३. अब पनि कसैले कुनै पनि सन्दर्भ वा प्रसंग जोडेर विशेष महाधिवेशनको चर्चा गर्छ भने उसले १५औं महाधिवेशन पुषभित्र तोकिएको मितिमा चाहेको छैन भन्ने स्पष्ट बुझ्न जरुरी छ ।

४. १५औं महाधिवेशनमा पराजित हुन्छु भन्ने डरले पुषभित्र तोकिएको मितिमा नियमित महाधिवेशन रोक्ने उद्देश्य पूरा गर्नको लागि स्वतः निष्क्रिय र निस्तेज भई सकेको विशेष महाधिवेशनको विषयमा आजैदेखि पुनः चर्चा चलाइन्दैछ ।

५. विशेष महाधिवेशनको चर्चा चलाउनेहरूले नियमित १५औं महाधिवेशनको प्रक्रिया शुरु हुनु भन्दा अगाडि नै आफ्नो हार स्विकार गरिसकेको कमजोरीका लक्षणहरू देखाइरहेका छन् ।

६. अब पनि विशेष महाधिवेशनको बेमौसमी चर्चा चलाउनु भनेको बाहिर बाहिर देखावटीरुपमा १५औं महाधिवेशनको बहस गर्ने गरेको तर, भित्रभित्रै महाधिवेशनमा चुनाव हार्ने डरले तोकिएको समयमा नै १५औं महाधिवेशन सम्पन्न हुन नदिने षडयन्त्र गर्न, जाल झेल गर्न र तानाबाना बुन्न तयारी गरि सकेकाहरूले लक्षण देखाउन शुरु गरेको प्रमाण हो ।

७. केन्द्रीय कार्य समितिको बैठक सकिएर बाहिर निस्किना साथ आत्तिएर बिशेष महाधिवेशनको धम्कीपूर्ण भाषा प्रयोग गरेर मिडियामा बोल्नु र सामाजिक संजालमा लेखाउनुको अर्थ र स्पष्ट संकेत देखिन्छ कि उहाँहरू पुषमा तोकिएको नियमित १५औं महाधिवेशनप्रति ईमानदार हुनु हुन्न र पदीय मोहले ग्रस्त भएकोले उहाँहरूलाई आफ्नो पद जाला भन्ने भयंकर त्रासले सताएको जस्तो देखिन्छ ।

८. नेपाली कांग्रेसको विधानको धारा ४ को उपधारा १०(ञ)मा स्पष्ट भाषामा लेखिएको छ – महाधिवेशन हुने मितिभन्दा छ महिना पहिले क्रियाशील सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको सदस्यले मात्र पार्टीको मतदानमा भाग लिन र यो विधानमा व्यवस्था भए बमोजिम निर्वाचनमा उम्मेदवार हुन पाउने छ । सबै साथीहरूले विधानको धारा ४ को उपधारा १०(ञ) राम्ररी पढनु हुन आग्रह गर्दछु ।

९. नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले एक वर्ष अगाडि र केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति गठन गरि छ महिना अगाडि नै क्रियाशील सदस्यता सम्बन्धि काम सकिएको भए २०८२ मंसिर महिना भित्र नै १५औं महाधिवेशन सम्पन्न हुने थियो । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता सम्बन्धि (क्रियाशील सदस्यताको नविकरण र नयाँ वितरण) काम नटुंग्याउने अनि बाहिर आफै विशेष महाधिवेशनको रोइलो गर्दै हिँड्नु लाजमर्दो विषय हो ।

पुनः भन्न चाहन्छु – २०८२ पुष २६, २७ र २८ गते नियमित १५औं महाधिवेशन गर्ने निर्णय भई सकेको कारणले विशेष महाधिवेशनको पत्रको स्वतः सान्दर्भिकता, आवश्यकता र औचित्य नै समाप्त भई सक्यो र यो पत्र स्वतः निस्क्रिय र निस्तेज नै भई सक्यो ।

कांग्रेसको नियमित १५औं महाधिवेशनमा वडा कार्यसमितिदेखि केन्द्रीय कार्य समितिसम्म स्वस्थ्य, निष्पक्ष र मित्रवत प्रतिस्पर्धा गरौं । चुनावका प्रतिस्पर्धीहरू एकअर्काको सहयात्री र सहयोगी हुन् । उनीहरू एकअर्काको शत्रु र विरोधी होइनन् । एकअर्काको मित्र, बन्धु, साथी र संगी हुन् ।

यसर्थ, पार्टीको विधानको धारा १७(१) अनुसार निर्णय भएको नियमित १५औं महाधिवेशन तोकिएको मिति २०८२ पुष २६, २७ र २८ गते नै भव्यतापूर्वक, निष्पक्ष र विधिवतरुपमा सफल पारौं ।

२०८२ को मंसिर १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकको नियमित १५औं महाधिवेशन २०८२ पुष २६, २७ र २८ गते गर्ने निर्णयले राजनीतिक र वैधानिकरुपमा सान्दर्भिक र औचित्य नै समाप्त भइसकेको तथा स्वतः निष्क्रिय र निस्तेज भई सकेको धारा १७(२) अनुसारको विशेष महाधिवेशनको हस्ताक्षरको चर्चा गरेर नियमित १५औं महाधिवेशनको काममा खलल पुग्ने र पुर्‍याउने कार्य कसैले पनि कहिल्यै पनि कुनै पनि बहाना गर्नु र गराउनु हुँदैन ।

Published : Tuesday, 2025 December 2, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया