चार वर्ष सिन्को भाँच्न नसकेका गगनले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति र कार्यबाहक सभापतिलाई पुस १४ मा बुझाउनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मंसिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ ।

सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नियमित १५औं महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय सर्वसम्मत अनुमोदन गरेको छ ।

पत्रकारहरूसँग केन्द्रीय कार्यसमितिले गरेका निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘केही समय अगाडिदेखि सञ्चालित नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भयो । मूलतः आजको केन्द्रीय समितिको बैठकले लामो छलफलपछि नेपाली कांग्रेसको १५औं महाधिवेशनको सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ ।’

‘कांग्रेसको १५औं महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुने गरी देहाय बमोजिमको कार्यतालिका निर्णयार्थ केन्द्रीय समितिमा पेस भयो । सर्वसम्मतबाट अनुमति भएको छ,’ प्रवक्ता डा.महतले भने ।

प्रवक्ता डा.महतले जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि मंसिर २४ गते र पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने निर्णय भएको बताए ।

क्रियाशील सदस्यताको प्रारम्भीक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति तथा कार्यबहाक सभापतिलाई पुस १४ गते बुझाउने निर्णय भएको प्रवक्ता डा.महतले बताएका छन् ।

नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नवयुवा पुस्ता, नयाँ तथा अन्य पार्टीहरूबाट आएकालाई समेत क्रियाशील सदस्यता दिने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, पुस १६ गते गाउँ, नगर र वडा अधिवेशन, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते, प्रदेश अधिवेशन सात प्रदेशको पुस २३ र २४ गते गर्ने गरी कार्यतालिका तय भएको प्रवक्ता डा.महतले बताएका छन् ।

प्रवक्ता डा.महतले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउन रहेको व्यवस्थापन समितिले विदेश र विभिन्न जिल्लाबाट आएका सदस्यताको सूची छानबिन गर्ने बताएका छन् ।

‘जति पनि क्रियाशील सदस्य जिल्लाहरूबाट, विदेशबाट आउँछ, त्यो क्रियाशील सदस्यताको सूची छानबिन समिति अर्को हुन्छ,’ उनले भने, ‘कुनै निवेदन, उजुर आएमा त्यस उपर छानबिन गर्ने । त्यो छानबिन समितिमा केन्द्रीय सभापतिमार्फत त्यो छानबिन समितिमा जान्छ र त्यसले त्यो काम पनि समयमै टुङ्गो लगाउने काम गर्छ ।’

प्रवक्ता डा.महतले कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति तथा कार्यबहाक सभापतिको परामर्श गरी विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने काम टुङ्गोमा पु¥याइने बताएका छन् ।

‘यी समितिहरूको गठन कार्यबहाक सभापति तथा कार्यबहाक सभापतिले परामर्श गरी टुङ्ग्याउनुहुन्छ,’ डा.महतले भने, ‘पार्टीको यो म्याद यही मंसिर २३ गतेसम्म कायम रहेको अवस्थामा यसको म्यादलाई हामीले माघ अन्त्यसम्म एक्सटेन्ड गर्ने, त्यसलाई थप्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ । किनभने मंसिरमै हाम्रो कार्यअवधि सकिने हुनाले र पुसमा हामी अधिवेशन गर्दैछौं ।’

कांग्रेसले नियमित १५औं महाधिवेशनबारे सर्वसम्मत निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको कीर्ते हस्ताक्षर अभियानले हावा खाएको छ । महामन्त्री थापा र शर्मा पार्टीभित्र निकै कमजोर अवस्थामा देखिएका छन् ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा महामन्त्रीद्वय थापा र शर्माको प्रभाव देखिए पनि कांग्रेसभित्र उनीहरू निकै कमजोर अवस्थामा छन् भन्ने कुरा केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपमा गरेको निर्णयले देखाइदिएको छ ।

महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील विवाद समाधान समिति छ । थापाको समितिले चार वर्षसम्म क्रियाशील सदस्यताबारे सिन्को पनि भाँच्न सकेको छैन । यदि क्रियाशील सदस्यता विवाद समाधान हुन सकेन भने त्यसको जिम्मेवारी महामन्त्री थापाले लिनुपर्नेछ ।

Published : Monday, 2025 December 1, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया