सभापति देउवाको रचनात्मक भूमिकापछि १५औँ महाधिवेशनको मिति घोषणा

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन भनेर कीर्ते हस्ताक्षर गरेका बेला नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौं गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका थिए । देउवाले फर्किर आउँदा समेत कार्यबाहक सभापति खड्का र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सिन्को पनि भाँच्न सकेका थिएनन् । सभापति देउवाको विशेष पलहमा नियमित १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय भएको छ । देउवाले कांग्रेस र देशभरिका कार्यकर्ताको भावनाअनुसार नियमित महाधिवेशन गर्ने निर्णय गराउन भूमिका खेलेका छन् ।

कांग्रेसको बैठक असोज २८ गतेदेखि शुरु भएको थियो । डा.महतले केन्द्रीय महाधिवेशन तयारी प्रक्रियाअन्तर्गत मंसिर २० गतेभित्र क्रियाशील सदस्य वितरण गर्नेगरी कार्यतालिका स्वीकृत भएको बताएका छन् ।

डा.महतले भने, ‘मंसिर २४ गतेसम्म क्रियाशील सदस्यता नवीकरण टुङ्गोेमा पु¥याउने र पुस ८ गतेसम्म नयाँ क्रियाशील सदस्यसम्बन्धी सबै काम सम्पन्न गर्ने तालिका तय भएको छ, नयाँ क्रियाशील सदस्य वितरणमा समावेशी, युवा तथा पार्टीमा प्रवेश गरेकालाई समेट्ने निर्णय भएको छ ।’

पार्टीको निर्णयअनुसार आगामी पुस १५ गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने, पुस १६ गते गाउँ तथा नगर वडा अधिवेशन, पुस १७ गते गाउँ तथा नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेश क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको समेत अधिवेशन गर्ने सर्वसम्मत निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पुस २२ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तथा पुस २३ र २४ गते सातै प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ ।

कांग्रेसले मंसिर २३ गतेदेखि सकिने केन्द्रीय समितिको म्याद माघ महिनाको अन्त्यसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता डा. महतले जानकारी दिएका छन् ।

Published : Monday, 2025 December 1, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया