नियमित महाधिवेशनको कार्यतालिकामा देउवा र खड्काको उच्चतम योगदान : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पुस मसान्तभित्र नियमित १५औँ महाधिवेशनको कार्यतालिका आउने निश्चित भएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेता गुरुङले महाधिवेशनको कार्यतालिका पार्टीको विधानको धारा १७(१) अनुसार २०८२ पुस मसान्तभित्र सम्पन्न हुने गरि आउने लगभग निश्चित भएको बताए ।

उनले भने, ‘यो कार्यतालिका ल्याउन धेरै दिनको अथक मेहनत तथा पार्टीभित्र रहेका सबै मतहरूलाई एकताबद्ध गर्ने उच्चतम कोशिसको प्रतिफल हो ।’

‘कुनै पनि राजनीतिक मुद्दाको पक्ष वा विपक्षमा उभिन जति कठिन हुन्छ, त्योभन्दा पनि कठिन र जटिल भिन्न मतहरू र दृष्टिकोणहरूलाई एकताबद्ध गरेर एउटा निश्चित निर्णयमा पुग्नु र निर्णयार्थ प्रस्ताव पेश गर्नुमा हुन्छ,’ उनले भने ।

‘यो भद्र सहमति निर्माण हुनु र यो निर्णय तय हुनुमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ज्यूहरूको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको उच्चतम योगदान रहेको स्पष्ट छ,’ उनले भने, ‘उहाँहरूको साथसाथै पार्टीका उप–सभापति, महामन्त्रीहरू, सह–महामन्त्रीहरू, पूर्व पदाधिकारीहरू, पार्टीका नेता डा.शेखर कोइराला र केही केन्द्रीय सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको छ ।’

उनले भने, ‘पार्टीका केही साथीहरू सहमतिको लागि भएको छलफलमा बस्ने, भद्र सहमतिको निर्णय पनि गर्ने र सहमतिको मसी सुक्न नपाउँदै बाहिर गएर भद्र सहमतिको बिपरित तथानाम बोल्दै हिंडने गरेको सुनिन्छ । यो प्रवृतिले कुनै पनि व्यक्ति र पार्टीलाई राम्रो गर्दैन ।’

नेता गुरुङले महामन्त्रीहरूले आफ्नो राजनीतिक जीवनमा गरेको सबैभन्दा ब्लन्डर भनेको देश र पार्टीलाई संकट परेर ईतिहाँसको कालखण्डमा सबैभन्दा बढी एकताको आवश्यता भएको बेलामा पार्टीको ‘विशेष महाधिवेशन’को माग गर्नु रहेको बताएका छन् ।

‘अहिलेका महामन्त्रीहरूले गलत समय र विषम परिस्थितिमा विशेष महाधिवेशनको माग गर्नु जस्तो गंभीर ब्लन्डर उहाँहरूले उहाँहरूले आफ्नो राजनीतिक जीवनको नत बिगतमा नै गर्नु भएको थियो होला र नत भविष्यमा नै योभन्दा गंभीर ब्लन्डर गर्नु होला भनेर अनुमान गर्न सकिन्छ ।’

‘मैले यो भन्दै गर्दा महामन्त्रीहरूलाई तितो लाग्ला तर, यो गंभीर ब्लन्डरको उहाँहरूले प्रायश्चित गर्ने समय भविष्यमा कुनै दिन अवश्य आउनेछ । समयको पांग्रा गोलो छ । नझुक्किनु, यो घुमिरहन्छ,’ नेता गुरुङले भने ।

‘महामन्त्रीहरूको भनेको व्यक्ति होइन, यो त पार्टी र पार्टी सभापतिलाई सहयोग गर्ने कार्यकारी पद हो,’ उनले भने, ‘यो समस्या बल्झाउने ठाउ होइन, यो समस्या सुल्झाउने आधिकारिक निकाय हो ।’

‘हिजो यो पदमा अन्य व्यक्तिहरू हुनुहुन्थ्यो, आज उहाँहरू हुनुहुन्छ र भोलि अरु व्यक्तिहरू नै आउनु होला । पार्टीमा यो पदको गरिमा, ईज्जत, प्रतिष्ठा र सम्मानलाई जोगाउने दायित्व र कर्तव्य यो पदमा आसिन व्यक्तिहरूको नै हुन्छ,’ उनले भने ।

नेता गुरुङले भने, ‘यसैले कुनै पनि व्यक्तिको अपरिमित महत्वांकांक्षा, अकर्मण्यता र किंकर्तव्यविमूढताको अर्थहीन भारि महामन्त्री जस्तो गरिमामय र जिम्मेवार पदले बोकिरहन सक्दैन । यसैले आफ्नो गरिमाको र आफुले सम्हालीरहेको जिम्मेवार पदको ख्याल र सम्मान हामी सबैले गरौं ।’

‘विधानको धारा १७(२) ले पार्टीको कुनै पनि तहको कुनै पनि पदाधिकारी र सदस्यलाई परिवर्तन गर्न सक्दैन,’ गुरुङले भने, ‘विधानको धारा १७(२) को नियमावली र कार्यविधि नै बनेको छैन ।’

‘पार्टीको पदाधिकारी परिवर्तन गर्न विधानको धारा २६ र धारा ४४ बाहेक अन्य धाराको व्यवस्था विधानमा उल्लेख गरिएको छैन,’ उनले भने, ‘केही साथीहरू वि.सं. २०१४ सालको सुवर्णशम्शेर राणाको पालाको उदाहरण दिनु हुन्छ । वि.सं. २०१४ सालमा सुवर्णशम्शेर राणाले अहिलेको विधानको धारा २६ जस्तै विधानको कुनै धारा प्रयोग गरेर आफू स्वयंले राजीनामा दिएर आफै कार्यवाहक सभापति भएर आफैले बोलाउनु भएको पार्टीको विशेष महाधिवेशनले वी.पी. कोइरालालाई सहमतिमा सभापति चयन गर्नु भएको थियो ।’

नेता गुरुङले भने, ‘यो विशेष महाधिवेशन वी.पी. कोइराला, सुवर्णशम्शेर राणा लगायतका पार्टीका नेताहरूको सर्वसम्मत निर्णयबाट भएको थियो । अहिले त्यो परिस्थिति र परिवेश नै छैन । नेपाली कांग्रेसमा वि.सं. २०१४ सालको विधान र अहिलेको विधानमा धेरै फरक छ ।’

‘त्यसबेला पार्टी सभापतिको मात्रै निर्वाचन हुन्थ्यो र अन्य सबै पदाधिकारी र सदस्यहरू पार्टी सभापतिले चयन गर्ने व्यवस्था विधानमा थियो,’ उनले भने, ‘यसैले पार्टी सभापतिले राजीनामा दिंदा वा पार्टी सभापतिलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउदा सिंगो कार्य समिति नै भंग हुने वैधानिक व्यवस्था थियो ।’

‘अहिले त्यस्तो व्यवस्था विधानमा छैन । अहिलेको विधानमा पार्टी सभापतिसहित कोषाध्यक्ष बाहेकको सम्पूर्ण पदाधिकारीहरू निर्वाचित हुन्छन्,’ नेता गुरुङले भने, ‘अहिलेको विधान अनुसार ८० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित हुन्छन् । अहिलेको विधानको धारा २६ अन्तर्गत पार्टी सभापतिले राजीनामा दिंदा पनि कार्य समिति भंग हुँदैन ।’

‘विधानको धारा ४४ अन्तर्गत अविश्वासको प्रस्ताव सभापति र पदाधिकारीहरूबिरुद्ध मात्र ल्याउन पाउने व्यवस्था छ र सदस्यहरूबिरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन पाउने व्यवस्था छौं,’ नेता गुरुङले भने ।

‘८० प्रतिशत निर्वाचित केन्द्रीय सदस्यहरूलाई हटाउन सक्ने वैधानिक व्यवस्था विधानमा उल्लेख गरिएको छैन,’ उनले भने, ‘एकछिनलाई मानौं विधानको धारा ४३ अनुसार अविश्वास प्रस्ताव ल्याएर सबै पदाधिकारीलाई हटाइयो । तर, पनि केन्द्रीय समितिमा ८० प्रतिशत निर्वाचित केन्द्रीय सदस्यहरू बहाल नै रहनु हुनेछ । उहाँहरूलाई धारा ४४ अन्तर्गत पनि हटाउन सक्ने वैधानिक व्यवस्था छैन,’ उनले भने ।

‘वि.सं. २०१४ सालको उदाहरणको अहिले कुनै अर्थ र सान्दर्भिकता नै छैन । यसैले नत वि.सं. २०१४ सालमा नै पार्टीको हालको विधानमा व्यवस्था भएको धारा १७(२) को भावसंग मिल्ने कुनै धारा अनुसार नेतृत्व परिवर्तन भएको थियो नत अहिले नै वर्तमान विधानको धारा १७(२)को व्यवस्था अनुसार नेतृत्व परिवर्तन हुन सक्छ,’ नेता गुरुङले भने, ‘यो भ्रमबाट सबैजना मुक्त हुनु राम्रो हुन्छ ।’

‘पार्टी सभापतिले पार्टीलाई एकताबद्ध राख्न अथक मेहनत गरि रहनु भएको छ । कसैप्रति पनि कुनै पनि प्रकारको द्वेषको भावना वहांको मनको कुनै कुनामा एक कण पनि छैन । पार्टीमा सबैको भावनालाई समेटनु पर्छ भन्ने उच्चतम सोच उहाँमा छ,’ उनले भने ।

‘यो अनुभव र अनुभूति मृत्युसँग जीवन खोसेर बाँचेको लामो र कठिन राजनीतिक यात्राबाट प्राप्त सुकर्मको फल हो,’ उनले भने, ‘यो पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक टावरिंग पर्सनालिटीको उज्यालो प्रकाशको समभाव किरणहरूको ज्योति हो ।’

नेता गुरुङले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा आफ्नो जुंगाको रेखी नबस्दाको उमेरदेखि आजसम्म जेल, नेल, यातना र संघर्षको कालरात्रिका कठिन दिनहरूमा पनि बहुदलीय लोकतन्त्रको लागि उहाँले गर्नु भएको संघर्ष अतुलनीय छ । अहिले पनि उहाँले लोकतन्त्र र पार्टी एकताको लागि अथक मेहनत गरि नै रहनु भएको छ ।’

Published : Monday, 2025 December 1, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया