क्रिप्टो करेन्सीका कारोबारी र राहदानी बनाउने दलालको समूह पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ७४ लाख ५२ हजार रुपियाँ अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
आइतबार प्रहरीले सार्वजनिक गरेकामा काठमाडौं महानगरपालिका वडा नं. १४ का ३६ वर्षीय विशाल डंगोल र मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेको विज्ञप्तिमा उल्लेख छ ।
शनिबार काठमाडौं महानगरपालिका–१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो करेन्सीको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ । पक्राउ परेकाहरूले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले श्रेष्ठ र डंगोलउपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, राहदानी बनाई दिनेभन्दै बिचौलियाको काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर बस्ने १९ वर्षीय हेमन्तसिंह ओखेडा, काठमाडौं महानगरपालिका–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ तथा प्यूठानको प्यूठान नगरपालिका बस्ने ३० वर्षीय दीपेश केएम रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
राहदानी विभाग त्रिपुरेश्वरको मूलगेटबाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पु¥याउने कार्य गरेको पाइएकाले तीनै जनालाई पक्राउ गरिएको प्रवक्ता आचार्यले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया