महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कले गम्भीर बनायो : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोँच्न बाध्य बनाएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आयोजना गरेको लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

आईजीपी कार्कीले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने बताएका छन् । यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको आईजीपी कार्कीले प्रशंसा गरेका छन् । आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उनले बताएका छन् ।

आईजीपी कार्कीले आर्थिक वर्ष २०८१÷०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिक रेका छन् । उनले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान पनि गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । प्रहरी नायव महानिरीक्षक दीपककुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गृहमन्त्रालयकी उपसचिव मीना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोशनीदेवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन लियोन मुवानी र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले आ–आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।

Published : Sunday, 2025 November 30, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया