गगन–विश्वले पहिला यी प्रश्नहरूको जवाफ देउन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चार वर्षसम्म पार्टीमा सिन्को पनि भाच्न सकेनन् । कांग्रेसको भ्रातृ संस्थाहरूको अधिवेशन समेत गराउन उनीहरूले सकेनन् ।

महामन्त्री थापाले आफ्नै नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिबाट क्रियाशील सदस्यताको टुंगो पनि लगाउन सकेनन् । आफैले पाएका सांगठनिक र अन्य विभिन्न जिम्मेवारीहरू थापा आफैले पूरा गरेका छैनन् । कांग्रेसभित्रको बेथिति बनाउनुमा महामन्त्रीद्वय थापा र शर्मा प्रमुख दोषी हुन् ।

सबैभन्दा पहिला महामन्त्रीद्वय थापा र शर्माले भ्रातृ संस्थाहरूको महाधिवेशन समयमा किन गराउन सकेनन् ? महाधिवेशन र निर्वाचनका बेला बोलेका कुराहरू किन पूरा गर्न सकेनन् ? त्यसको सबैभन्दा पहिला जवाफ दिनुपर्छ । थापाले महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा भागबण्डा र गुटको राजनीति अन्त्य हुने भनेका थिए । सबैभन्दा धेरै भागबण्डा र गुटको राजनीति थापाले नै गरेका छन् ।

महामन्त्री थापाले कांग्रेसमा सिण्डिकेट लागू गरेका छन् । नियमित महाधिवेशन गराउन भूमिका खेल्न नसकेका थापालाई कांग्रेस कब्जा गरेर पार्टी सभापति बन्ने इच्छा जागेर आएको छ । विधि र प्रक्रियाबाट सभापति बन्न थापालाई कसैले रोकेको छैन । तर, जसरी उनले निर्वाचनको मुखमा विशेष महाधिवेशन भनेर पार्टी कब्जा गरेर सभापति बन्ने चाहना राखेका छन् त्यो उनका लागि घातक सावित भएको छ । थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न नदिएर जसरी गतिविधि गरिरहेका छन् त्यसले गर्दा देश र कांग्रेसलाई ठूलो क्षति भएको छ ।

महामन्त्रीद्वय थापा र शर्मा व्यक्ति हुन् । भोलिका दिनमा थापा र शर्मालेले कांग्रेस छाडेर गए भने पनि कांग्रेसलाई कुनै क्षति हुनेवाला छैन । बरु उनीहरूले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा जान नदिएर अबरोध गरेको कार्यले देशले नै मूल्य चुकाउनुपर्ने अवस्था आएको छ ।

अन्तरिम सरकारले फागुन २१ गते चुनावको घोषणा गरिसकेको छ । निर्वाचन आयोगले धमाधम निर्वाचनको तयारीहरू गरिरहेको छ । शान्ति सुरक्षा बनाउनदेखि सुरक्षा निकायलाई आवश्यक पर्ने सामग्रीहरू खरिदमा सरकारले आन्तरिक तयारी थालेको छ ।

निर्वाचन आउन अब मुस्किले १ सय दिन पनि छैन । यस्तो अवस्थामा महामन्त्रीद्वय थापा र शर्मालाई विशेष महाधिवेशन चाहिएको छ । १ सय दिनभित्र महामन्त्रीद्वय थापा र शर्माले भनेअनुसार कुनै पनि हालतमा विशेष वा नियमित महाधिवेशने हुने सम्भावना छैन । बरु महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसलाई निर्वाचन केन्द्रित बनाएर संगठन निर्माणमा काम गरेर देशभरिका नेता, कार्यकर्ताहरूलाई क्रियाशील बनाउँदा उचित हुन्छ ।

महामन्त्री थापालाई सभापति बन्ने इच्छा छभने पनि प्रतिस्पर्धा गर्ने बाटो खुला छ । महाधिवेशनमा थापालाई कसैले पनि सुनको थालीमा राखेर सभापति पद दिनेवाला छैनन् । थापाको अहिलेको गतिविधि र चालामाला हेर्दा उनी सभापति बन्ने सम्भावना निकै कम छ । थापालाई सामाजिक सञ्जालको सभापति बनाउन भने उनका साइबर सेनाले सक्नेछन् ।

Published : Sunday, 2025 November 30, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया