गगन–विश्वले रमिता देखाएपछि सभापति देउवाद्वारा सहमतिका लागि परामर्श

काठमाडौं । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सडकमा रमिता देखाएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतिको प्रयास स्वरुप पदाधिकारी र शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।

शनिबार सभापति देउवाले काठमाडौंस्थित निवासमा नेताहरूसँग अलग अलग र सामूहिक रुपमा भेट गरेर सहमतिका लागि प्रस्ताव तयार पारेर केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रुपमा पारित गर्न निर्देशन दिएका छन् । सभापति देउवाले कांग्रेसलाई निर्वाचनमा विजयी बनाउने गरेर तयारी गर्न पटक पटक आग्रह गर्दै आएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि विशेष महाधिवेशन भनेर बबण्डर मच्चाइरहेका छन् । उनीहरूले कांग्रेसलाई वडादेखि केन्द्रसम्म निर्वाचनका बेला विशेष महाधिवेशनको नाममा विभाजन गराउने पक्षमा देखिएको आरोप छ ।

निर्वाचनका बेला विशेष महाधिवेशन गर्दा कांग्रेसका नेता, कार्यकर्ताबीच विभाजन हुने आशंका केन्द्रीय नेताहरूको छ । विशेष महाधिवेशन गर्दा वडादेखि केन्द्रसम्म युवा पुस्ताले भाग लिन पाउनेछैन । १४औँ महाधिवेशनको पुराना महाधिवेशन प्रतिनिधिले मात्रै भाग लिन पाउनेछन् ।
महामन्त्रीद्वय थापा र शर्माले कीर्ते हस्ताक्षर गराएर बुझाएका छन् । कीर्ते हस्ताक्षरको भरमा थापा र शर्माले विशेष महाधिवेशनको माग गरेका हुन् । कीर्ते हस्ताक्षरको सनाखत गर्नुपर्ने माग केन्द्रीय कार्यसमितिमा उठेको छ । यद्यपि, थापा र शर्मा हस्ताक्षर सनाखत गर्न अनिच्छुक छन् ।

एकताबद्ध भएर फागुन २१ गतेको निर्वाचनमा भाग लिएर वैशाखमा नियमित महाधिवेशन गर्नुपर्नेमा बहुमत पदाधिकारी र केन्द्रीय सदस्य छन् । ९० प्रतिशत कार्यसमितिका पदाधिकारी र सदस्यहरू विशेष महाधिवेशनको विपक्षमा छन् ।

आरोप लगाउनेहरूले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गर्ने तयारी गरेको आरोप छ । उनीहरूले अर्को नयाँ पार्टी बनाउन केही व्यक्तिहरूलाई विधानको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको भनेर आरोपहरू पनि लागेका छन् ।

Published : Saturday, 2025 November 29, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया