सभापति र कार्यबाहक सभापतिको सहमतिको सदासयतालाई गगन–विश्वले कमजोरी नठान्नु : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति शेरबहादुर देउवाले देखाएको सहमतिका लागि देखाएको सदासयतालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कमजोरी ठान्ने गंभीर गल्ती गरेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेता गुरुङले गगन–विश्वले केही समयपछि पछुताउँने अवस्था आउने बताए । ‘सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्ण बहादुर खडकाको पार्टीभित्र हाल देखिएको आन्तरिक विवादलाई एकताबद्ध भएर समाधान निकाल्न गर्नु भएको अथक प्रयास र शालिन सदासयतालाई पार्टीका महामन्त्रीहरूले उहाँहरूको कमजोरीको रुपमा बुझ्ने गंभीर गल्ती गरिरहेको भन्ने सुनिन्छ ।’

‘यदि यो सत्य हो भने त्यो उहाँहरूको गंभीर भुल हुनेछ र उहाँहरूसँग पछुतो बाहेक केहि पनि हात लाग्ने छैन,’ नेता गुरुङले भने ।

‘पार्टी सभापतिसँग ८५ प्रतिशतभन्दा बढी केन्द्रीय कार्यसमितिका साथीहरू साथमा हुँदा पनि उहाँले अत्यन्त लचकताका साथ आन्तरिक विवाद मिलाउन जसरी मिहनेत गरि रहनु भएको छ, प्रशंसनीय छ,’ नेता गुरुङले भने ।

‘कार्यवाहक सभापतिले माफ पाउँ सबैसँग बैठक सारेकोमा । गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ । जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारी रहन्छु म कार्यबाहक रहेसम्म भनेर सामाजिक संजालमा लेख्नु विवाद समाधानको लागि देखाउनु भएको उच्चतम सदासयता हो, जुन प्रशंसनीय छ,’ उनले भने ।

‘अब प्रश्न उठछ– के आन्तरिक विवाद मिलाउने दायित्व आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिको मात्रै हो र ? यो काम महामन्त्रीहरूको पनि होइन र ?’ उनले प्रश्न गरेका छन् ।

‘के महामन्त्रीहरूले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सदासयता देखाउनु पर्दैन र ? के यसको लागि उहाँहरूले अग्रसरता लिनु पर्दैन र ?’ प्रश्न गर्दै गुरुङले भने, ‘के पार्टीका महामन्त्रीहरू पक्ष वा विपक्षमा बाडिन मिल्छ र ?’

‘के पार्टीका महामन्त्रीहरूले आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा यसमा समस्या माथि समस्या थपेर विवादलाई अझ बढी जटिल बनाउन मिल्छ र ?’ उनले प्रश्न गरेका छन् ।

‘महामन्त्रीहरूसँग पार्टीका साथीहरूले अब के अपेक्षा गर्ने – विवाद कि समाधान ?’ उनले प्रश्न गरेका छन्, ‘आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिले पार्टीको आन्तरिक विवाद मिलाउन जसरी सदासयता र लचकता प्रदर्शन गर्नु भएको छ र अग्रसरता लिनु भएको छ, महामन्त्रीहरूले पनि उहाँहरूभन्दा बढी लचकता र सदासयता प्रदर्शन गर्नु पर्छ र उहाँहरूभन्दा बढी विवाद समाधान गर्न अग्रसरता लिनु पर्छ ।’

‘कुनै पनि देशमा बाहिरी देशको आक्रमण भयो भने त्यो देशको राजनीतिक दलहरू र राजनीतिक शक्तिहरूले सबै मतभिन्नताहरूलाई त्यागेर एकताबद्ध हुन्छन् र देशको कार्यकारी प्रमुखलाई साथ मात्र दिदैनन्, युद्ध जित्नको लागि आफ्नो सम्पूर्ण शक्ति र सामथ्र्य पनि लगाइदिन्छन्,’ उनले भने ।

‘पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि सांघातिक आक्रमण गरेर उहाँहरूलाई मरणासन्न हुने गरि रगताम्य पारे । उहाँहरूको लगायत पार्टीका धेरै नेताहरू र साथीहरूको घरहरू जलाए,’ उनले भने ।

‘नेपाल जलेको समयमा, नेपालको संविधान मूलबाटोबाट डिरेल भएको समयमा, नेपालको लोकतान्त्रिक राजनीतिको भविष्यको गंभीर चिन्ता गर्नु पर्ने समयमा र नेपालीको उज्जवल भविष्यको लागि अथक मिहनेत गर्नु पर्ने समयमा पार्टीमा आन्तरिक विवाद उचित देखिन्दैन,’ उनले भने ।

‘यस्तो बिषम र कठिन बेलामा सबै मतभिन्नताहरूलाई बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र सबै तिता पलहरू थाँती राखेर हामी सबैले आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलाई साथ दिनु पर्ने र सहयोग गर्नु पर्ने हामी सबैको अधिकार, कर्तव्य र दायित्व हो,’ नेता गुरुङले भने ।

‘अहिले आन्तरिक विवादको समय होइन, प्रबल आन्तरिक एकताको समय हो । देशमा उत्पन्न बिषम परिस्थितिको कारणले नेपाली कांग्रेस पनि अत्यन्त कठिन र जटिल परिस्थितिमा रहेको छ,’ उनले भने ।

‘यस्तो समयमा महामन्त्रीहरूले पनि सबै तितो पलहरूलाई विस्मृतिमा राखेर पार्टीलाई सुसंगठित गर्न पार्टी सभापति र कार्यवाहक सभापतिलाई खुल्ला दिलले सहयोग गर्नु पर्छ र उहाँहरूको हरेक कदममा पूर्ण साथ दिनु पर्छ । महामन्त्रीहरूले आन्तरिक विवादमा अल्झिनु उहाँहरूको लागि शोभायमान हुँदैन । विवाद समाधान गर्ने कार्यमा महत्वपूर्ण भूमिका नै खेल्नु पर्छ, महामन्त्रीहरूले,’ नेता गुरुङले भने ।

‘महामन्त्रीहरू पार्टीको कार्य समितिको संख्या मात्र होइन, समस्याहरूको समाधान गर्ने सहयोगीहरू पनि हुन्,’ उनले भने, ‘यसर्थ, पार्टीभित्र विवाद चुलीमा पुर्याएर महामन्त्रीहरूको नेतृत्व कौशल देखिन्दैन ।’

‘उकालो लागेको आन्तरिक समस्याको पाइलाहरूलाई समाधानको मूलबाटोमा ल्याउने कर्तव्य र दायित्व पनि महामन्त्रीहरूको हो,’ उनले भने, ‘महामन्त्रीहरूले पार्टी सभापति र कार्यवाहक सभापतिलाई आन्तरिक विवाद समाधान गर्न सक्रिय सहयोग गरेर उहाँहरूको सदासयता र लचकतालाई साथ दिनु नै अहिलेको समयमा उचित कदम हुनेछ ।’

Published : Saturday, 2025 November 29, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया