गगन–विश्वलाई रिप्लेस गर्न कांग्रेसमा जेनजी पुस्ता तयार, तीनकुनेबाट दिए सन्देश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको ‘हामी नै सर्बेसर्वा हौँ’ भन्ने भ्रमलाई जेनजी पुस्ता अर्थात् युवा, विद्यार्थीको तीनकुने भेलाले तोडिदिएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भेला भएका सयौँ युवा, विद्यार्थीले कांग्रेसको हितमा अभिव्यक्ति दिएका छन् । कांग्रेसको नियमित १५औँ महाधिवेशन पक्षधर युवा, विद्यार्थीको बृहत भेलाका सहभागीहरूले धाराप्रवाह अभिव्यक्ति दिएका छन् । कांग्रेसमा गगन–विश्वले मात्रै राम्रो अभिव्यक्ति दिन्छन् भन्ने भ्रमलाई तीनकुने भेलाका युवा, विद्यार्थीले तोडिदिएका छन् । गगन–विश्वले भन्दा राम्रो तर्कसँग अभिव्यक्तिहरू दिएका छन् । कांग्रेसमा गगन–विश्वमात्रै होइनन् अरु पनि असल र राम्रो पुस्तोको जन्म भइसकेको सन्देश तीनकुनेबाट दिएका छन् ।

कांग्रेसलाई ‘हामीले धानेका छौँ’ भन्ने गगन–विश्वको अहँकार र भ्रमलाई नियमित महाधिवेशन पक्षधर युवा, विद्यार्थीले भङ्ग गरिदिएका छन् । अनुहार र बोल्न कौशलले हुन्थ्यो भने महामन्त्रीद्वय थापा र शर्मा चितवन, तनहुँ र इलामको उपनिर्वाचनमा कमाण्डर बनेर गएका थिए । उनीहरूले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन सकेनन् । गगन–विश्वले कांग्रेसका उम्मेदवारहरूलाई फागुन २१ को निर्वाचनमा जिताउन सक्छन् भन्ने कुनै विश्वास लाग्ने अवस्था नरहेको बृहत भेलाका सहभागीहरूले बताएका छन् ।

गगन–विश्वले पार्टीको नेतृत्वमा बसेर विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट पटक पटक आह्वान गरेका थिए । उनीहरू नेतृत्वमा बसेर विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउन पाइँदैन भनेर भेलाका वक्ताहरूले बताएका छन् । भेलाका वक्ताहरूले अब कांग्रेसमा युवाहरूको कुनै कमी छैन भन्ने सन्देश दिएको छ । गगन–विश्वको अहँकार र दम्भको जवाफ तीनकुनेबाट युवा, विद्यार्थीले दिएका छन् । गगन–विश्वका विरुद्ध युवा, विद्यार्थी खुलेर बोलेका छन् ।

युवा पुस्तालाई कसरी कांग्रेसमा प्रवाह गर्ने भन्ने सन्देश र सुझावहरू पनि दिएका छन् । विशेष महाधिवेशन र नियमित महाधिवेशनको फरकका विषयमा पनि युवा, विद्यार्थीले राम्रोसँग बुझाएका छन् ।

नियमित महाधिवेशन हुँदा वडादेखि केन्द्रसम्म युवा पुस्तालाई समेट्न सकिने उनीहरूले बताएका छन् । विशेष महाधिवेशन गर्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सभापति वा उपसभापति बनाउन मात्रै सकिने ब्याख्या सुनाएका छन् । तीनकुनेमा भेला भएका युवा, विद्यार्थीले विशेष महाधिवेशनको बहानामा गगन–विश्वले युवा पुस्तालाई कांग्रेसको कुनै पनि नेतृत्वमा आउन नदिने गरी बाटो बन्द गर्न लागेको भन्दै आक्रोश पोखेका छन् ।

वडादेखि केन्द्रसम्म नियमित महाधिवेशन भयो भने मात्रै युवा, विद्यार्थीको सहभागिता कांग्रेसमा हुने तर्क उनीहरूको छ । विशेष महाधिवेशन गर्दा १४औँ महाधिवेशनका पुराना प्रतिनिधिले मात्रै कांग्रेसको नेतृत्व चयन गर्ने हुँदा युवा पुस्ताको माग पूरा नहुने भेलाका वक्ताहरूले बताएका छन् ।

बृहत भेलामा नेपाली कांग्रेसका नेताहरू मोहन बस्नेत, लक्ष्मी खतिवडा, बाग्लुङ कांग्रेसका सभापति जीतबहादुर शेरचन, बागमती प्रदेश सांसद मसिना खड्का, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, तरुण दलका पूर्व उपाध्यक्ष उत्तम चापागाईं, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, सिन्धुपाल्चोक कांग्रेसका उपसभापत दोर्जे लामा, कांग्रेसका नेता पुष्पराज शाही, सरोज थापा, नेविसंघ नेतृ सिर्जना मल्ल लगायत झण्डै दुई हजार युवाहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 November 28, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया