जेनजीको मौका छोपेर महामन्त्रीहरूले छापामार शैलीले कांग्रेस कब्जा गर्न खोज्नुभयो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नयाँ पुस्ताालाई पार्टीमा स्थान दिन नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित रुपमा हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित युवा, विद्यार्थीको बृहत भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले नियमित महाधिवेशन भयो भने वडादेखि केन्द्रसम्म नयाँ पुस्ता आउन सक्ने बताए । उनले विशेष महाधिवेशन हुँदा १४औँ महाधिवेशनका प्रतिनिधिले नेतृत्व चयन गर्ने भएको हुँदा नयाँ पुस्तालाई कांग्रेसमा बाटो बन्द हुने बताए । उनले भने, ‘कांग्रेसको १५औँ महाधिवेशन नियमित रुपमा हुनुपर्छ । युवा, विद्यार्थीको हुनुपर्छ । यो हाम्रो माग पनि हो ।’

उनले भने, ‘भदौ २४ गते केही घटनाहरू भए । विध्वंश भए । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जलाउने कार्य भयो । जलानेहरू नेपालीहरू थिए । नेपाली मनले जलाउन सक्दैन थिए । जलाउनेहरू आतंककारी नै थिए ।’

तरुण अध्यक्ष गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजीको नाममा पार्टी कब्जा गर्न डर, त्रास र धम्कीको शैलीमा जिल्लाजिल्लामा हस्ताक्षर अभियान चलाएका कारण कांग्रेसको दुर्भाग्य भएको बताए ।

उनले भने, ‘यही मौका पारेर, जति बेला हाम्रा कन्द्रीय नेताहरूको घर जलाइयो । यो बेला हाम्रा आदरणीय युवा नेताहरू, युवा महामन्त्रीजीहरू जसलाई हामीले १४औँ महाधिवेशनमा युवाहरूको लागि दुइटा महामन्त्रीलाई चुन्यौँ । तर, महामन्त्रीजीहरूले मौकाको फाइदा उठाएर नेपाली कांग्रेसलाई छापामार शैलीले कब्जा गर्ने जुन प्रक्रिया शुरु गर्नुभयो, जिल्लाजिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई जेनजीको नाममा डर, त्रासले जुन सिग्नेचर क्याम्पेनिङ गर्नुभयो यो नेपाली कांग्रेसको लागि दुर्भाग्य भयो ।’

‘जसको कारणले नेपाली कांग्रेस जस्तो पार्टीले दुई महिनासम्म जनतालाई निकास त परै जाओस्, नेपाली कांग्रेसको आफ्नो निर्णय पनि दिन सकेको छैन,’ अध्यक्ष गुरुङले भने ।

उनले भने, ‘विशेष महाधिवेशनको भेलामा अर्का हाम्रा नेता गुरु घिमिरेजीले सुदूरपश्चिममा कांग्रेसका कार्यकर्ताहरूलाई राउटेहरू भन्नुभयो । हो तपाईको यही प्रवृत्तिले यस्तै यस्तै अभिव्यक्तिले नेपाली कांग्रेसमा न तपाईले कहिले चुनाव जित्न सक्नुभयो । न कुनै निर्वाचन जित्न सक्नुभयो ।’

‘हाम्रा युवा नेताहरू जसका बोली मीठा छन् । बिचार पनि पचाएका हाम्रा नेताहरू जसले आफ्नो कार्यकर्ताहरूलाई एउटै कुरा उहाँहरूले सिकाउनुभयो दिनरात नेपाली कांग्रेसका नेतालाई सोसल मिडियामा गाली गर्ने, पार्टीको विरुद्धमा बोल्ने, नेताहरूको बिरुद्धमा बोल्ने, आफ्नै सरकारको विरुद्धमा बोल्ने, बोल्दा बोल्दा बोल्दा आज आम नागरिकलाई पनि पार्टी नेतामाथि बिषवमन जागेको छ । यसको प्रमुख पात्र तपाईहरू हो,’ तरुण दलका अध्यक्ष गुरुङले भने ।

‘तपाईहरूले कस्तो कार्यकर्ता उत्पादन गर्नुभयो ? तपाईहरूको कार्यकर्ताले न वीपी चिन्छन्, न किशुनजी चिन्छन्, न नेपाली कांग्रेस चिन्छन्, न नेपाली कांग्रेसको संस्कारलाई चिन्छ, चिन्छन् भने तपाईलाई बोहक कसैलाई चिन्न सक्दैनन्,’ अध्यक्ष गुरुङले भने, ‘यस्तो प्रवृत्तिले तपाईहरूले नेपाली कांग्रेसको नेतृत्व सम्हाल्न सक्नु हुन्न ।’

उनले भने, ‘भन्दै हुनुहुन्थ्यो सिंहदरबार कब्जा भयो । अब पार्टी कब्जा गर्छु भन्नुभएको छ । हो भदौ २४ गतेको घटनामा हाम्रा पार्टी सभापतिमाथि हमला हुँदै गर्दा हामीले बचाउन सकेनौँ । तरुण दलमा यो कुरा भनेको छु । त्यो पीडाको बोझ हामीसँग छ । सिंहदरबार जलाउँछन् भन्ने, त्यो किसिमको लुटपाट र विध्वंश गर्छन् भन्ने परिकल्पना हामीले गर्न सकेनौँ ।’

‘अब हुने कुनै पनि आन्दोलनहरूमा नेपाल तरुण दल आफ्नो तयारीमा बस्ने छौँ । अब कुनै पनि आन्दोलनमा जलाउने कार्यको हामीले प्रतिकार गर्नेछौँ,’ अध्यक्ष गुरुङले भने, ‘नेपाली कांग्रेसभित्र पनि जसले पार्टी कब्जा गर्छु भनेको छ, जसले पार्टी कार्यालयभित्र छिर्छु भनेको छ त्यसको औषधि पनि हामीसँग छ ।’

तरुण दलका अध्यक्ष गुरुङले भने, ‘कतिपय साथीहरूलाई लाग्न सक्छ नियमित महाधिवेशन भनेको के हो ? विशेष महाधिवेशनले १४औँ महाधिवेशन कै महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व चुन्ने भएको हुँदा नयाँ पुस्ताहरू पार्टीभित्र आउन ढोका बन्द हुने भएको कारणले गर्दा १५औँ महाधिवेशन वडादेखि जिल्लादेखि केन्द्रसम्म नयाँ पुस्ता आउनुपर्छ । त्यसको लागि एउटै बिकल्प हो, त्यो हो नियमित महाधिवेशन ।’

Published : Friday, 2025 November 28, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया