शेरबहादुर देउवा कांग्रेसको सम्पत्ति हो, जग हँसाउने काम नगरौँ, निर्वाचन केन्द्रित बनौँ : किशोरसिंह राठौर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउवा पार्टीको सम्पत्ति रहेको भन्दै फागुन २१ गतेको निर्वाचनमा केन्द्रित भएर लाग्न निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौंमा स्ववियु परिषदको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै राठौरले भने, ‘पार्टीभित्र केही ठूलो समस्या छैन । आदरणीय सभापतिज्यूले दुई वर्षदेखि १५औँ महाधिवेशनमा सभापति लड्दैन भन्नुभएको छ ।’

‘भदौ २३ र २४ गतेको परिस्थितिपछि उहाँले कार्यबाहक सभापतिको जिम्मेवारी दिइसकेको परिस्थितिमा कसैले विशेष अधिवेशन भनेको छ, कसैले निर्वाचन अगाडि अधिवेशन भनेको छ, कोही निर्वाचन पछाडि भनेको छ,’ उनले भने, ‘सारा मान्छे हाँसी राखेका छन् । जग हँसाउने काम हामीबाट भइरहेको छ ।’

‘हामीसँग लोकतान्त्रिक संस्कार छैन । लोकतान्त्रिक संस्कार, कल्चर नभएका कारण आज पार्टीभित्रको आन्तरिक निर्वाचनले पार्टी कमजोर भयो । त्यसैले मैले भनेको छु, वडादेखि केन्द्रसम्म सर्वसम्मत गरौँ,’ सहमहामन्त्री राठौरले भने ।

‘मैले ४० वर्षको अनुभवले भनेको हुँ । लोकतान्त्रिक पद्धति भनेको जित्नेले चलाउने, हार्नेले कुर्ने हो । जित्नेले समेट्ने, हार्नेले सहयोग गर्ने त्यही हो लोकतान्त्रिक पद्धति,’ उनले भने ।

राठौरले भने, ‘भारतमा त्यत्रो देशमा विजेपीमा पार्टीको केन्द्रीय अध्यक्ष घोषणा गर्छन् । कांग्रेस आईको केन्द्रीय अध्यक्ष घोषणा गर्छन् । त्यहाँ चलेको छ । हामीलाई निर्वाचन चाहिएको छ । निर्वाचन पनि चाहिएको छ तर, लोकतान्त्रिक आचारण पनि देखाउन सकेकौ छैनौं ।’

‘सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरिसकेको छ । नेपाली कांग्रेस देशको जिम्मेवारी पार्टी हो । कांग्रेसले के निर्णय गर्छ भन्ने कुरा देशले पनि हेरिहेको छ । हामीले सारा ताकत लगाएर फागुन २१ गतेको निर्वाचनमा लगाउनुपर्छ,’ उनले भने ।

‘पार्टीको अधिवेशन ६ महिना अगाडि, ६ महिना पछाडि भएर केही पनि हुनेवाला छैन,’ उनले भने, ‘०५६ को चुनावमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री भनेर घोषणा गरेर चुनावमा गएको ईतिहाँस छ । शेरबहादुर देउवाको नाममा भोट आउँदैन भने कसको नाममा भोट आउँछ ? छलफल गरौँ केन्द्रीय समितिमा, कार्यसम्पादन समितिमा भनेको थिएँ ।’

‘आज लाजमर्दो ढङ्गले पार्टी सभापतिलाई पदाधिकारी, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि भएका व्यक्तिहरूले खुइल्याउने गतिविधि भएको छ । त्यसलाई नेविसंघले रोकोस्,’ राठौरले भने ।

‘के के नै बिग्रिएको जस्तो गरेर पार्टीलाई बदनाम गर्ने, नेतृत्वलाई बदनाम गर्ने कुरा क्षम्य हुन सक्दैन । मर्यादित बनेर कुरा गरौँ । पार्टीमा हैसियत नभएका बुद्धिजीवीहरूले जथाभावी भन्ने ? शेरबहादुर देउवा नेपाली कांग्रेसको सम्पत्ति हो,’ उनले भने ।

‘शेरबहादुर देउवाले जति दुःख गरेको छ हामीले दुःख गरेका छैनौँ । नेविसंघको अध्यक्ष भएपछि तपाईहरूको उमेरमा सात वर्ष जेल गएको व्यक्ति हो । शेरबहादुर देउवाले प्रजातन्त्र आएपछि धेरै गर्नुभएको छ,’ राठौरले भने ।

Published : Friday, 2025 November 28, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया