महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा डा.राणाका दोषीहरू कता छन् ? अधिकारकर्मीहरू किन बोल्दैनन् ?

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ अर्पना खड्काले भदौ २४ गते तत्कालीन परराष्ट्रमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण हुँदा समेत महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ/संस्था तथा अधिकारकर्मीहरूले एक शब्द पनि नबोलेकोमा आश्चर्य व्यक्त गरेकी छिन् ।

कांग्रेसकी महाधिवेशन प्रतिनिधि समेत रहेकी नेतृ खड्काले सरकारले देशभरि महिला हिंसाविरुद्धको दिवस मनाइरहेका बेला डा.राणामाथि भएको आक्रमणबारे गम्भीर प्रश्न उठाएकी छिन् । सामाजिक सञ्जालमा प्रश्न गर्दै उनले लेखेकी छिन्, ‘देशैभर महिलाविरुद्ध हुने हिंसा दिवस मनाउँदै गर्दा सुशीला कार्की सरकारलाई मेरो प्रश्न ?’

सरकारले देशभरि महिला हिंसाविरुद्धको दिवस विभिन्न कार्यक्रमहरू गरेर मनाइरहेको छ । तत्कालीन परराष्ट्रमन्त्री डा.राणालाई अमानवीय रुपमा कुटपिट गरेर हत्याको प्रयास गर्ने सुण्डमुण्ड भुसतिघ्रेहरू खुलारुपमा हिँडिरहेका छन् । पक्राउ गरेर कारबाही नहुँदा अपराधमा संलग्न उनीहरूको मनोवल झन् उच्च भएको छ । डा.राणामाथि भएको आक्रमणका विषयमा महिला अधिकारको क्षेत्रमा काम गर्ने कसैले पनि एकशब्द सार्वजनिक रुपमा विरोध गरेर बोलेका छैनन् । अनि कसरी हुन्छ ? महिलाहरूविरुद्ध हुने हिंसाको अन्त्य ?

डा.राणाले आफ्ना संघ÷संस्था र कांग्रेसमा लबिङ गरेका कारण महिलाहरूले राजनीतिमा ठूलो उपलब्धि पाएका छन् । स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक पद महिलालाई अनिर्वाय दिनुपर्ने व्यवस्था डा.राणाकै पहलमा भएको थियो । तत्कालीन समयमा निर्वाचन आयोगकी आयुक्त इला शर्माले यो कुरा सार्वजनिक रुपमा बताएकी थिइन् ।

महिला अधिकारका क्षेत्रमा डा.राणाको ठूलो योगदान छ । तर, डा.राणामाथि बर्बबर हिंसा हुँदा समेत एकशब्द पनि महिला अधिकारकर्मीहरूले बोलेका छैनन् । डा.राणामाथि भएको यो हिंसाविरुद्ध नबोल्ने हो भने अपराध गर्नेहरूको मनोबल उच्च हुनेछ । नेपालबाट महिला हिंसा कहिल्यै पनि अन्त्य हुनेछैन । जति नै दिवस मनाए पनि डा.राणामाथि हिंसा गर्नेहरू जस्ता अपराधीहरू समाजमा झन् जरो गाडेर बस्नेछन् ।

नेतृ खड्काले प्रश्न गर्दै लेखेकी छिन्, ‘कुनै एउटा अपराधी महिलालाई समाउन महिला प्रहरी खटाइने कानूनी प्रावधान छभने हाम्रो निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि बर्बरतापूर्वक अमानवीय ढङ्गले असभ्य शब्द बोल्दै लात्तैलात्ताले मरणासन्न हुनेगरि कुटिएको कुरा हिंसाभित्र पर्छ कि पर्दैन ? ती अपराधीमाथि कारबाही हुन्छ कि हुँदैन ?’

‘यो देशमा एकसे एक ठूलाठूला महिला अधिकारकर्मी छन् । किन चुइक्क बोल्दैनन् ? कि तपाईहरूको अधिकार डलरसँग मात्रै सम्बन्धित छ ?’ उनले प्रश्न गरेकी छिन् ।

‘उनीमाथिको हमला महिला अस्मितामाथिको हमला हैन र ?’ नेतृ खड्काले प्रश्न गर्दै भनिन्, ‘यदि महिला नेतृ नेपाली कांग्रेस केन्द्रीय सदस्य दोषी छिन् भने उनीमाथि निष्पक्ष छानबिनको दायरामा ल्याई कानूनी कारबाही हुनुपर्छ तर, दण्डहीनताको प्रश्रय दिँदै उनीमाथि भएको क्रुर आक्रमण कुन चाहिँ मानवअधिकारभित्र पर्छ जवाफ चाहियो ?’

‘सो घटनाको सत्यतथ्य छानबिनसहित दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गर्दछु,’ खड्काले लेखेकी छिन्, ‘एउटी महिला प्रधानमन्त्री भएको मेरो देशमा अर्की महिलामाथि भएको निन्दनीय अपराधिक घटनाको चुपचाप नियालेर कसरी बस्न सक्छिन् ?’

‘महिला हिंसा अन्त्य गरौँ हिंसा रहित समाजको परिकल्पना गरौँ,’ कांग्रेस नेतृ खड्काले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

Published : Friday, 2025 November 28, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया