कांग्रेसभित्र भाँडभैलो हुन थालेपछि सहमतिको प्रयास स्वरुप सभापति देउवाद्वारा परामर्श, मिलेर अगाडि बढ्न आग्रह

काठमाडौं । कार्यबाहक सभापतिको जिम्मेवारी दिएर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र निकै विवाद देखिन थालेपछि सहमतिको प्रयास स्वरुप शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्काका साथै पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरेका हुन् । देउवाले आफू नियमित महाधिवेशनको पक्षमा रहेको र फागुन २१ गतेको निर्वाचनमा एकताबद्ध बनेर कांग्रेसलाई जिताउने गरेर जानुपर्ने पक्षमा रहेको बताएका छन् ।

स्रोतका अनुसार सभापति देउवाले महाधिवेशन र निर्वाचनलाई लिएर भएको विवाद मिलेर समाधान गर्न आग्रह गरेका छन् । देउवाले मुलुक संकटपूर्ण अवस्थामा रहेको भन्दै अहिले व्यक्तिगत भन्दा पनि देश र पार्टीका लागि विशेष ध्यान दिएर निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने भनेर पहिला नै घोषणा गरिसकेको र विधानले पनि तेस्रो पटक सभापति बन्ने व्यवस्था नगरेको हुँदा मिलेर अगाडि बढ्न नेताहरूलाई आग्रह गरेका छन् । सभापति देउवाले कार्यबाहक सभापति खड्का तथा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए ।

महामन्त्रीद्वय थापा र शर्माले फागुन २१ गतेको निर्वाचनलाई भन्दा पनि विशेष महाधिवेशन गरेर पार्टी कब्जाको योजना बनाएका छन् । थापा र शर्माले कांग्रेसभित्र विशेष महाधिवेशनको बहानामा बिभाजनका बीउ रोपेपछि सभापति देउवा चिन्तित बनेका छन् ।

सभापति देउवाले यसअघि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.प्रकाशशरण महत लगायतसँग छलफल गरेका छन् । देउवाले नेताहरूलाई सबैसँग परामर्श गरेर सहमतिका साथ अगाडि बढ्न सुझाव दिएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारीमा छ । बैठक बस्नुभन्दा अगाडि सभापति देउवाले नेताहरूका बीच सहमति खोज्न आन्तरिक छलफल गरेका छन् ।

Published : Thursday, 2025 November 27, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया