गोदावरी प्रस्तावहरू असफल, गगन-विश्वका कारण कांग्रेस दुर्घटनामा जान्छ : गुरुङ

कल्याण गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२०८० फागुन ७ गते देखि १० गतेसम्म ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमितिको बैठक सम्पन्न भयो । यो महासमितिको बैठकलाई पार्टीका दुई जना महामन्त्रीहरूको प्रस्तावमा नै पार्टीले ‘नीति अधिवेशन’को संज्ञा दिएको थियो ।

यो नीति अधिवेशनमा सहभागी हुनेहरू सबैलाई राम्रोसँग थाहा छ कि पार्टीका दुई जना महामन्त्रीहरूले उद्घाटन मन्तव्य, समापन मन्तव्य र कार्यपत्रको प्रस्तुतीकरण गरि तीन पटक लामो लामो समय लिएर आ–आफ्नो धारणा राख्नु भयो ।

तर, त्यहाँ नीतिहरूको विषयमा कुनै गंभीर छलफल नै भएन । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा, जसलाई केन्द्रीय कार्यसमितिको बैठकबाट नै निरुपण गर्न सकिन्थ्यो, केही व्यक्तिहरूबाट होहल्ला र नाराबाजी गराउनु भयो ।

नीति अधिवेशन कुनै गंभीर छलफल र निष्कर्ष बिना नै सुगन्ध बिनाको फूल जस्तो फिका फिका सम्पन्न भयो । देशभरिका साथीहरूलाई दुःख मात्रै भयो ।

लामो लामो र पट्यारलाग्दो भाषण सुनेर निराश भएर गोदावरीबाट साथीहरू घर फर्किनु भयो । नीति अधिवेशनमा एकजना महामन्त्रीले ‘राजनीतिक प्रस्ताव’ र अर्को महामन्त्रीले ‘सांगठनिक प्रस्ताव’ पेस गर्नु भएको थियो ।

ती दुबै प्रस्तावहरूले नत संगठन जोगाउन सक्यो, नत देशको राजनीतिलाई नै मूलधारमा कायम राख्नु सक्यो । पार्टीका महामन्त्रीहरूले आजफेरि आफैले प्रस्तुत गरेको ती प्रस्तावहरू गहिरिएर पढने हो कि ?

गठबन्धन गर्नु हुँदैन भनेर प्रस्ताव लाने एकजना महामन्त्री त कांग्रेस–एमाले गठबन्धनको बेला नेपालको संविधानले नचिनेको सरकार संचालन गर्ने एउटा समितिको सदस्यमा गर्वको साथ बसेको दृष्टान्त ताजै छ ।

गोदावरीमा दुई जना महामन्त्रीहरूले प्रस्तुत गर्नु भएको प्रस्तावहरू आज सम्पूर्णरुपले असान्दर्भिक र असफल भई सक्यो ।

महामन्त्रीहरूको नीति पनि असान्दर्भिक र असफल भई सक्यो र नेतृत्व पनि काम गर्न नसकेर असान्दर्भिक र असफल प्रमाणित भई सक्यो ।

नीति पनि असफल र नेतृत्व पनि असफल भई सकेको महामन्त्रीहरू कुन नैतिकताले पदीय दायित्वमा रहिरहने हो ? महामन्त्रीहरूले गंभीरतापूर्वक विचार गर्ने हो कि ?

आजफेरि, नेपाल अत्यन्त कठिन मोडमा उभिएको समयमा र राष्ट्रिय राजनीतिमा पार्टीले गंभीरतापूर्वक सक्रिय भूमिका खेल्नु पर्ने समयमा विधानको धारा १७(२) को गलत तर्क गरेर दुईजना महामन्त्रीहरू के को लागि दिनरात सक्रिय हुनुहुन्छ, बुझ्न सकिएको छैन ।

प्रष्ट छ, विधानको धारा १७(२)ले नेतृत्व परिवर्तन गर्न सक्दैन । नीतिहरूको लागि निर्णय गर्न केन्द्रीय कार्य समितिको बैठक नै पर्याप्त छ ।

देशभरिका पार्टीका साथीहरूमा अन्यौल, अनिश्चितता र निराशा सिर्जना गर्न केही साथीहरू सामाजिक संजालमार्फत् अत्यन्त सक्रिय रहनु पार्टीको लागि अकल्पनिय दुःखदायी र दुर्भाग्यपूर्ण परिस्थिति हो ।

महामन्त्रीहरूले उठाउनु भएको नीतिहरूसँग सम्बन्धित विषय केन्द्रीय कार्यसमितिको बैठकबाट नै यस सम्बन्धमा गंभीर छलफल गरेर सजिलै निर्णय गर्न सकिन्छ ।

विधानको धारा २६ अन्तर्गत सभापतिले राजीनामा दिइसकेको परिस्थितिमा मात्रै कार्यवाहक सभापतिले ६ महिनाभित्र बोलाउनु भएको विशेष महाधिवेशनले मात्रै नयाँ सभापतिको चयन गर्न सक्छ ।

यसैगरि, विधानको धारा ४४ अनुसार सभापति वा पदाधिकारीविरुद्ध विधान अनुसार आएको अविश्वास प्रस्ताव विधानमा व्यवस्था भएको प्रक्रिया अनुसार नै महाधिवेशन प्रतिनिधिहरूले पास गरेमा मात्रै सभापति वा पदाधिकारी हटाउन सकिने व्यवस्था रहेको छ ।

यि सबै कुरा दुई महामन्त्रीहरूले राम्ररी प्रष्टसंग बुझ्नु भएको छ । फेरि पनि के को लागि साथीहरूलाई सडकमा पठाइरहनु भएको छ ? बुझ्न सकिएको छैन ।

बिना पूर्वाग्रह, आशा र सम्मानका साथ म साथीहरूलाई आग्रह गर्न चाहन्छु कि पार्टीका दुई जना महामन्त्रीहरूको गोदावरीमा प्रस्तुत प्रस्तावहरूलाई राम्ररी नियाल्नु होस् । वहाँहरू के बोलिरहनु भएको छ ? के गरिरहनु भएको छ ? सूक्ष्मरुपले अध्ययन र विश्लेषण गर्नु होस् । वहाँहरूको उद्देश्य के हो ? प्रष्ट सोध्नु होस् ।

साथीहरू, कतै तपाईहरू भ्रममा त परिरहनु भएको छैन ? कतै तपाईहरूको पवित्र भावनाको अपमान त भइरहेको छैन ?

साथीहरू, सबैलाई प्रष्टसँग थाहा छ कि विधानको धारा १७ (२) ले पार्टीको कुनै पनि तहको नेतृत्व परिवर्तन गर्न सक्दैन ।

साथीहरू, तपाईहरूले चाहेको कस्तो नीति हो ? प्रष्ट गर्नु होस्, ती नीतिहरू केन्द्रीय कार्यसमितिको बैठकबाट नै छलफल गरेर निर्णय गर्न सकिन्छ ।

त्यसको लागि १७(२) को विशेष महाधिवेशन नै चाहिन्दैन । यदि पार्टीलाई नयाँ नीति नै चाहिएको हो भने गोदावरीमा दुई जना महामन्त्रीहरूले प्रस्तुत गरेको राजनीतिक र सांगठिनक प्रस्तावहरू असान्दर्भिक र असफल भइसकेको ठहर गर्दै र महामन्त्रीहरूले नैतिक जिम्मेवारी लिंदै ती प्रस्तावहरूलाई खारेज गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा लानु पर्दछ ।

पार्टीले निर्वाचनमा जाने निर्णय गरि सकेको समयमा, सबै दलहरूले निर्वाचनको लागि तयारी गरिरहेको समयमा, नेपालको राजनीति गंभीर मोडमा उभिएको समयमा, पार्टीको जनमत खस्किएको समयमा र पार्टीका साथीहरूको मनोबल खस्किएको समयमा नचाहिने किचलो गर्ने हो कि पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने हो ? यतिबेला पार्टीका साथीहरूको मनोबल उकास्ने समय हो ।

अहिलेको समयमा निर्वाचन मात्रै एउटा वैधानिक विकल्प हो, जसले नेपालको राजनीतिलाई केही अंशमा भए पनि मूल बाटोमा ल्याउन मद्दत गर्न सक्छ ।

यसैले साथीहरू, तपाईहरू आफै योग्य र सक्षम हुनु हुन्छ । आफै विचार गर्नु होस् । कुनै प्रकारको भ्रममा नपर्नु होस् ।

नेपाली कांग्रेस भ्रममा पर्‍यो भने पार्टीको भविष्य मात्रै होइन, नेपालमा लोकतन्त्रको भविष्य पनि अन्यौलमा पर्न सक्छ ।

Published : Thursday, 2025 November 27, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया