भतिजोसँगको अबैध सम्बन्धले तरिमा खातुनको हत्या आशंका, वैदेशिक रोजगारी पति
वृन्दावन । रौतहटको वृन्दावन नगरपालिका वडा नं. ९ भुसाहामा २५ वर्षीया महिला तरिमा खातुनको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ ।
सोमबार राति भुसाहा निवासी खातुनलाई परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । खातुनको शव मङ्गलबार बिहान भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय, गरुडा र जिल्ला प्रहरी कार्यालय, रौतहटको संयुक्त टोलीले घटनास्थलमा रहेको खाडल खनेर खातुनको पुरिएको शव निकालेको छ ।
खातुनका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्यहरू डेढ वर्षका छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिएका छन् ।
घटनाको मूल कारण अनैतिक सम्बन्धको आरोपसँग जोडिएको अनुमान गरिएको छ । मृतकका बुबा ताज मोहम्मदका अनुसार गत कात्तिक १८ गते माइतीतर्फ आयोजित विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग खातुनले अबैध सम्बन्ध राखिरहेकै अवस्थामा फेला परेकी थिइन् । दुवै जनाले विवाह गर्ने मौखिक सहमति जनाएपनि परिवारले स्वीकार नगरेपछि विवाद चर्किएको र सोमबार राति सोही विषयलाई लिएर हत्या भएको अनुमान प्रहरीको छ ।
मृतकका भाइ शेख आस मोहम्मदले दिदीको हत्या प्रत्यक्ष देखेको र परिवारका सदस्यले हत्या गरिरहेको बेला विरोध जनाउँदा धम्की दिएपछि उनी त्यहाँबाट भाग्न सफल भएको बताएका छन् । भाइले दिदीको हत्या भएको पुष्टि गर्ने तस्वीर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन् ।
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनास्थलबाट एउटा चक्कु समेत बरामद भएको छ ।
शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । प्रहरीले फरार रहेका उनका घरका सदस्यहरूको खोजीकार्य तीव्र रुपमा गरिरहेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया