मन परेन भन्दैमा आफ्नै सभापतिको मर्यादामा आँच पुग्ने कार्य गर्नु बालहठ : कल्याण गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले कसैलाई मन परेन भन्दैमा आफ्नै पार्टीको सभापतिको पदीय, व्यक्तिगत, वैधानिक र कानूनी मर्यादामा आँच पुग्ने गरि सामाजिक संजाल रंगाएर प्रतिस्पर्धीहरूले जुंगा मुसार्ने र जगत् हँसाउने कार्य गर्नु अबोध बालहठ मात्रै भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता गुरुङले शेरबहादुर देउवा कांग्रेसका कार्यकर्ता सबैको पार्टी सभापति भएको बताए । गुरुङले भने, ‘वहाँ प्रत्येक नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्यहरूको मात्र होइन, सबै भ्रातृ एवं शुभेच्छुक संघ र संस्थाहरू एवं विदेशस्थित जनसम्पर्क समितिका सम्पूर्ण सदस्यहरूको पनि राजनीतिक र वैधानिकरुपमा नै पार्टी सभापति हो ।’
‘नेपाली कांग्रेसका कार्यवाहक सभापति आदरणीय श्री पूर्णबहादुर खडका राजनीतिक र वैधानिकरुपमा नै हामी सबैको आदरणीय कार्यवाहक पार्टी सभापति हो । यसमा पनि कसैलाई कुनै सन्देह छ र ?’ उनले प्रश्न गरेका छन् ।
‘कसैलाई मन परेन भन्दैमा आफ्नै पार्टीको आदरणीय पार्टी सभापतिको पदीय, व्यक्तिगत, वैधानिक र कानूनी मर्यादामा आँच पुग्ने गरि सामाजिक संजाल रंगाएर प्रतिस्पर्धीहरूले जुंगा मुसार्ने र जगत् हंसाउने कार्य गर्नु अबोध बालहठ मात्रै हो,’ गुरुङले भने, ‘बालबालिकाहरूले सानो सानो चकलेटको लागि कुरा नबुझेर गरेको झमेला जस्तै हो ।’
नेता गुरुङले भने, ‘साथीहरूलाई यति धेरै बालखपन पनि सुहाउँदैन यो उमेरमा । अरुको व्यक्तिगत सम्मान गर्न नजाने पनि, अरुको उमेरको ईज्जत गर्न नसके पनि कम्तिमा आफू स्वयंको र आफ्नो उमेरको त आफैले ईज्जत गरौं साथीहरू ।’
‘हामीले पार्टीका सभापति, कार्यवाहक सभापति, पदाधिकारीहरू र पार्टीका नेताहरुको पदीय र व्यक्तिगत मर्यादाको सदैव ख्याल राख्नु पर्छ र ईज्जत गर्नु पर्छ,’ उनले भने, ‘यसैगरी पार्टीका हरेक सदस्य साथीहरूको पनि मान, सम्मान, ईज्जत र मर्यादाको सदैव हेक्का राख्नु पर्छ ।’
केन्द्रीय सदस्य गुरुङले भने, ‘पार्टीका साथीहरूले नेपालको संविधान र नेपाली कांग्रेसको विधान, नियमावली र कार्यविधिको पनि अध्ययन गर्दै त्यसमा निहीतार्थ ज्ञानहरूको पनि हेक्का राख्नु पर्छ ।’
‘लोकलज्जाको पनि ख्याल गर्नु पर्छ । नेपालको निर्वाचन सम्बन्धि ऐनलाई पनि ध्यानमा राख्नु पर्ने हुन्छ,’ नेता गुरुङले भनेका छन् ।
‘केटाकेटीहरूले अरुलाई हिलो छ्यापे भन्ने भ्रम पालेर आफू स्वयं हिलोले लतपतिएर हिलाम्मे भएको बालबालिका जस्तो जिद्दी गर्नु पनि राम्रो होइन,’ गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै भनेका छन् ।
‘हिजोको दिनमा आदरणीय श्री विश्वेश्वरप्रसाद कोइराला सभापति र आदरणीय श्री कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति हुनु भएको समयलाई सम्झौं, पढौं र मनन गरौं,’ उनले भने ।
‘यसको साथसाथै आदरणीय श्री गिरिजाप्रसाद कोइराला सभापति र आदरणीय श्री सुशील कोइराला कार्यवाहक सभापति हुनु भएको दिनहरूलाई पनि सम्झौं, अध्ययन गरौं र ती अध्यायलाई पनि मनन् गरौं,’ नेता गुरुङले भने, ‘ती दिनहरूमा भएका मननीय अभ्यासहरूलाई पनि आत्मसात् गरौं ।’
नेता गुरुङले भने, ‘नेपालको संविधान, नेपाली कांग्रेसको ईतिहास, विधान र नियमावली र नेपालको निर्वाचन सम्बन्धी ऐनलाई पढौं, अहिलेका धेरै अनुत्तरित प्रश्नहरूको स्वतस्फुर्त र स्वभाविक उत्तर त्यसमा निहीत छ ।’
‘विवेक गुमाउने छुट हामी कसैलाई पनि छैन । अहिले संवाद, सहमति र एकताको समय हो । आवेग, आवेश, आक्रोश र उत्तेजनाको समय होइन । अहिले शान्ति, संयम, धैर्य र विवेकको समय हो । आफू सम्हालिने र साथीहरूलाई सम्हाल्ने समय हो,’ कांग्रेस केन्द्रीय सदस्य गुरुङले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया