महामन्त्रीहरू र तिनका समर्थकले सभापतिको उदारतालाई कमजोरी ठानेर झन् आक्रामक बने : नेविसंघ नेतृ गुरुङ
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)की केन्द्रीय सदस्य गीता गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा निरन्तर व्यक्तिगत र संस्थागत आक्रमण भइरहेको भन्दै चिन्ता जनाएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेतृ गुरुङले कांग्रेसमा अहिले विशेष महाधिवेशन आवश्यक नरहेको बताइन् । उनले सभापति शेरबहादुर देउवाको संयमता, मौनता र धैर्यतालाई महामन्त्रीद्वय थापा र शर्मा तथा उनीहरूको समर्थकहरूले कमजोरीका रुपमा लिएको बताइन् ।
गुरुङले भनेकी छिन्, ‘नेपाली कांग्रेसलाई आज चाहिएको विशेष महाधिवेशन होइन, जिम्मेवार र संगठनप्रति इमानदार नेतृत्व र नियमित महाधिवेशन हो ।’
‘सभापति शेरबहादुर देउवाको धैर्य र उदारताले पार्टीलाई एकताबद्ध राख्ने प्रयास गरिरहेको छ । अब प्रश्न महामन्त्रीहरू र तिनका समर्थकहरूसँग छ, के उहाँहरू यो उदारतालाई सम्मान गर्दै पार्टी हितमा केन्द्रित हुन तयार हुनुहुन्छ, कि व्यक्तिगत महत्वाकांक्षाकै लागि कांग्रेसलाई फुटको संघारमा पु¥याउन चाहानुहुन्छ ? पक्कै समयले यसको जवाफ दिनेछ,’ उनले भनेकी छिन् ।
‘तर, आजको सत्य यो हो, नेपाली कांग्रेसलाई सभापति शेरबहादुर देउवाको संयम र जिम्मेवारीले जोगाइरहेको छ, महामन्त्रीहरूको आक्रोशले होइन ।’
‘नेपाली कांग्रेसको आन्तरिक जीवनमा यतिखेर एउटा अस्वाभाविक दृश्य देखिँदैछ । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर व्यक्तिगत र संस्थागत आक्रमण भइरहेको छ,’ नेतृ गुरुङले भनेकी छिन् ।
‘तर, उहाँ आफ्नो परम्परागत धैर्य र उदार शैलीमा अडिग हुनुहुन्छ । यो उदारता कुनै कमजोरी होइन, बरु एउटा जिम्मेवार नेताले पार्टी एकतालाई जोगाउन देखाउनुभएको परिपक्वता हो,’ नेविसंघ नेतृ गुरुङले भनेकी छिन् ।
‘महामन्त्री विश्वप्रकाश शर्माको “ब्याक गियर हुन्न” भन्ने अभिव्यक्ति र गुरुराज घिमिरेको “देउवाले कांग्रेसलाई फुटतिर धकेलिरहेका छन्” जस्तो धम्कीपूर्ण भाषा पार्टीभित्रको अस्वस्थ प्रवृत्तिको परिचय बनेको छ,’ उनले भनिन् ।
‘यो शैली न लोकतान्त्रिक छ, न सङ्गठनात्मक मर्यादा अनुकूल । आफैंले दिएको बचनबाट पछि हट्ने, अनि सभापतिमाथि निरन्तर प्रहार गरेर पार्टीमा अस्थिरता निम्त्याउने काम कुनै पनि जिम्मेवार नेतृत्वको लक्षण होइन,’ नेतृ गुरुङले भनेकी छिन् ।
‘सभापति शेरबहादुर देउवाले यस्तो आक्रमणको जवाफमा पनि संयम देखाउनु भएको छ । वहाँले न निलम्बनको हतियार निकाल्नु भएको छ, न गुटगत कारबाहीको धम्की दिनु भएको छ । यो संयम पार्टी एकताको रक्षा गर्न खोज्ने नेताको जिम्मेवारी हो,’ नेतृ गुरुङले भनेकी छिन् ।
‘तर, महामन्त्रीहरू र तिनका समर्थकहरूले यो उदारतालाई कमजोरी ठानेर झन् आक्रामक बनेका छन् । ईतिहाँसले बारम्बार प्रमाणित गरेको छ, यस्तै अतिवादी र व्यक्तिगत आक्रोशको राजनीतिले कहिल्यै पार्टी बलियो बनेको छैन, बरु फुट र विभाजनको बीउ रोपिएको छ,’ नेविसंघ नेतृ गुरुङले भनेकी छिन् ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको बहानामा कांग्रेसभित्र फुटको बीउ रोपेका छन् । उनीहरूले आफूलाई असुरक्षित ठानेर निर्वाचनलाई भन्दा पनि विशेष महाधिवेशनलाई केन्द्रमा राखेको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया