एक भएर चुनावमा जाने हो, एक-दुई-तीन विशेष महाधिवेशन हुँदैन, गगनलाई कल्याणको जबरजस्त जवाफ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले अहिले पार्टीको विशेष महाधिवेशनमा अलमिलेन अवस्था नरहेको भन्दै एकजुट भएर राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन अनुरोध गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता गुरुङले विशेष महाधिवेशन हुने सम्भावना नरहेको बताए । सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा पार्टी निर्वाचनमा ढुक्का साथ जाने उनले बताए ।
‘यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ । यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ,’ नेता गुरुङले भने ।
गत शनिबार महामन्त्री गगन थापाले आफैले केन्द्रीय कार्यसमितिबाट गरेको निर्णयको मसी सुक्न नपाउँदै विशेष महाधिवेशन गर्ने र नयाँ सभापतिको हस्ताक्षरसहित निर्वाचनमा जाने अभिव्यक्ति दिएका थिए । महामन्त्री थापाको अभिव्यक्तिको जवाफ दिँदै केन्द्रीय सदस्य गुरुङले कुनै पनि हालतमा विशेष महाधिवेशन हुने अवस्था नरहेको बताएका छन् ।
‘पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । कुरो सुस्पष्ट छ । आफै विचार गर्नु होला । भ्रममा नपर्नु होला,’ केन्द्रीय सदस्य गुरुङले भने ।
उनले भने, ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ – के विशेष महाधिवेशन मंसिरमा हुन्छ ? मैले भने – बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’
‘एक, केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन,’ नेता गुरुङले भनेका छन् ।
‘दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनिसकेको छैन । तीन, हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण भई सकेको छैन,’ गुरुङले भने ।
‘चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन,’ उनले भने ।
‘पाँच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन,’ नेता गुरुङले भने ।
‘विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहाँको राजीनामा स्वीकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ,’ केन्द्रीय सदस्य गुरुङले भने ।
‘विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ,’ नेता गुरुङले भने, ‘वहाँहरूले फेरि सोध्नु भयो – अब के हुन्छ ?’
‘मैले फेरि भने – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन,’ नेता गुरुङले भने ।
‘साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ,’ नेता गुरुङले भने, ‘पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया