गगन आफैले हस्ताक्षर गरेको मसी सुक्न दिएनन्, आत्तिएको स्टाटसले कांग्रेसभन्दा धेरै अगाडि पुगेको संकेत
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफैले गरेको निर्णयको मसी सुक्न नपाउँदै कार्यकर्ताहरूमा भ्रम छर्ने गरेर अभिव्यक्ति दिएका छन् ।
कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयहरूमा महामन्त्री थापा आफैले पनि हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने अनि कांग्रेसलाई कमजोर बनाउने गरेर अभिव्यक्ति दिएको भनेर थापामाथि गम्भीर प्रश्नहरू उठेका छन् ।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट दिएको अभिव्यक्तिले निर्वाचन अगाडि कांग्रेस सग्लो रहन्छ वा रहँदैन भनेर टिकाटिप्पणी समेत हुन लागेका छन् । विशेष महाधिवेशनको बहानामा महामन्त्री थापा कांग्रेसभन्दा धेरै अगाडि गइसकेका हुन् की भनेर प्रश्न उठेका छन् ।
निर्वाचन आयोगमा दल दर्ता गर्दा सभापति शेरबहादुर देउवा भएपछि शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने हो । महामन्त्री थापालाई यो कुराको जानकारी हुनुपर्छ ।
तत्काल विशेष महाधिवेशन हुने सम्भावना छैन । विशेष महाधिवेशन गर्नका लागि पनि विधि र प्रक्रिया हुन्छ । एक व्यक्ति अर्थात् सभापतिलाई मात्रै हटाउन विशेष महाधिवेशन हुँदैन । पूरै कार्यसमितिविरुद्ध विशेष महाधिवेशन हुने हो । नियमित महाधिवेशनबाट नेतृत्वमा आउन सकैलाई छेकबार छैन ।
कांग्रेसको सभापति शेरबहादुर देउवा हुन् । शेरबहादुर देउवाले नै राष्ट्रियसभा र प्रतिनिधिसभाको टिकटमा हस्ताक्षर गर्छन् । सभापति देउवाले प्रेमपत्रमा हस्ताक्षर गर्दैनन् ।
महामन्त्री थापाले आफैले केन्द्रीय कार्यसमितिको बैठकमा गरेको निर्णय र हस्ताक्षरको मुसी सुक्न नपाउँदै आत्तिएर दिएको अभिव्यक्तिले कांग्रेस फुटको संघारमा पुगेकी हो की भनेर कार्यकर्ताहरूले आशंका गरेका छन् । केही नेताहरूले त सामाजिक सञ्जालमा ‘कति घमण्ड हो ?’ भनेर महामन्त्री थापामाथि प्रश्न गरेका छन् ।
सोमबार महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘बहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने, होइन ।’
‘साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भने, प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’
‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं,’ थापाले लेखेका छन् ।
विधि र विधानअनुसार विशेष महाधिवेशन गर्दा पनि महामन्त्री थापाले बुझाएको भनिएको ५४ प्रतिशत हस्ताक्षरको सनाखत गर्न कम्तिमा पनि दुई महिना लाग्न सक्छ । सभापति देउवाविरुद्ध मात्रै विशेष महाधिवेशन हुँदैन । स्वयं महामन्त्री थापा र सिङ्गो कार्यसमितिमाथि विशेष महाधिवेशन हुने हो । त्यो अवस्थामा नियमित महाधिवेशन गराउन नसक्ने महामन्त्री थापामाथि पनि नैतिक प्रश्न उठ्नेछ ।
आफैले हस्ताक्षर गरेको निर्णयलाई उल्लंघन गर्ने गरेर ४८ घण्टाभित्र महामन्त्री थापाले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भनेर आलोचना भइरहेको छ । कांग्रेसभित्र आफैले निर्णय गर्ने, आफैले नियमित महाधिवेशन गर्न नसक्ने, जेनजी आन्दोलनको बहानामा पार्टी कब्जा गर्न खोज्ने कार्यप्रति कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया