गृहमन्त्री अर्याल र कांग्रेस नेता खतिवडाबीच भेट, घरमा प्रवेश गरेर धम्काउने प्रवृत्ति रोक्नुस्, सबै मिलेर चुनावमा जाऔँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेर फागुन २१ गतेको मध्यावधि निर्वाचनका लागि शान्ति सुरक्षाको भरपर्दो अवस्था बनाउन आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति समेत रहेका नेता खतिवडाले गृहमन्त्री अर्याललाई शान्ति सुरक्षा बनाउने विषयमा कांग्रेसको पनि सरकारलाई साथ रहने आश्वासन दिएका छन् । नेता खतिवडाले कांग्रेस फागुन २१ गतेको निर्वाचनमा भागी लिने भनेर निर्णय गरिसकेको सन्दर्भमा गृह प्रशासनले शान्ति सुरक्षा बनाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कांग्रेस नेता खतिवडाले लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन, हिँडडुल, भेला, प्रशिक्षण लगायतका कार्यक्रम गर्न पाइने भन्दै केही स्थानमा अबरोधका प्रयासहरू भइरहेकोप्रति गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराएका छन् । यस्ता खालका उछृङ्खल गतिविधिले निर्वाचनको वातावरणलाई बिथोल्ने खतिवडाले बताएका छन् ।

गृहमन्त्री अर्यालले सरकार निर्वाचनमा केन्द्रित रहेको र शान्ति सुरक्षा बनाउने विषयमा गम्भीरतापूर्वक लागेको बताएका छन् । अर्यालले कांग्रेसले निर्वाचनप्रति देखाएको प्रतिवद्धता र निर्णयको प्रशंसा गरेका छन् ।

यसैबीच, कांग्रेस नेता खतिवडाले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ६ घोराखरीमा ईलाका प्रशासन स्थापना गर्ने अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयनका लागि गृहमन्त्री अर्यालसँग आग्रह गरेका छन् ।

अघिल्लो सरकारले मन्त्रिपरिषदबाट देशभरका २३ वटा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । ईलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन गृहमन्त्री अर्यालसँग नेता खतिवडाले अनुरोध गरेका छन् ।

कांग्रेस नेता खतिवडाले हाल केही समूहरू घरघरमा गएर धम्क्याउने, जनतामा त्रास फैलाउने तथा अवाञ्छित गतिविधि गर्ने घटनाहरू बढ्दै गएकोबारेमा गृहमन्त्री अर्यालसँग गम्भीर चासो व्यक्त गरेका छन् । त्यसप्रति गृह मन्त्रालयले तत्काल कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने खतिवडाले आग्रह गरेका छन् ।

यस्ता गतिविधिले जनताको मनोबल कमजोर पार्ने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले राज्य संयन्त्र सशक्त रूपमा परिचालन गर्न नेता खतिवडाले गृहमन्त्री अर्यालसँग आग्रह गरेका छन् ।

जेनजीको नाममा सुदन गुरुङले दुई दिन अगाडि बारा जिल्लामा निवर्तमान सांसद किसान श्रेष्ठको घरमा प्रवेश गरेर गुण्डाशैलीमा धम्काएका थिए । सुदन गुरुङका गतिविधिहरू जेनजीका नामा निकै उत्तेजित र अराजक बन्दै गएका छन् ।

यसैबीच, नेता खतिवडाले गृहसचिव रामेश्वर दङ्गालसँग पनि भेट गरेका छन् । गृहसचिव दङ्गालसँग चम्पादेवीमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने अघिल्लो सरकारको निर्णयलाई छिटो कार्यान्वयनमा लगिदिन आग्रह गरेका छन् ।

Published : Sunday, 2025 November 23, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया