गगन-विश्वको भुमरीमा परेको कांग्रेसले बल्ल लियो राष्ट्रिय राजनीतिमा लय, देशलाई संकटबाट निकाल्ने

काठमाडौं । जेनजी प्रदर्शनमार्फत् परिवर्तनका लागि मुखरित आवाजको संवोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छभन्ने नेपाली कांग्रेसले ठहर गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुशासन र पारदर्शिता लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै, संविधानको मर्म र मूल्य मान्यता बमोजिम रूपान्तरण सहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यक छ ।’

‘अतः नेपाली कांग्रेस विघटित प्रतिनिधि सभाका दलहरू, प्रदर्शन पश्चात् उदाएका दलहरू, जेनजी पुस्ता, नागरिक समाज, वुद्धिजीवी, व्यापारीक व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालासँग बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आव्हान गर्दछ र यसका लागि नेपाली कांग्रेस आवश्यक पहल गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘जेनजी प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यस सम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्तावेजीकरण गर्ने निर्णय नेपाली कांग्रेसले गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘हाल मुलुक गम्भीर राजनीतिक संकटमा छ । यस संकटको सामना हामी सबै नेपालीले संयमता र धैर्यताका साथ एकतावद्ध भई गर्नु परेको छ,’ कांग्रेसले भनेको छ ।

‘विगतमा आएका कैयौँ राष्ट्रिय संकटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा, यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ,’ कांग्रेसले भनेको छ ।

‘यस राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै नेपाली कांग्रेस सबै राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न हार्दिक अपील गर्दछ,’ प्रेस विज्ञप्तिमार्फत कांग्रेसले भनेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कीर्ते हस्ताक्षर गराएर विशेष महाधिवेशनको नाममा कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न दिएका थिएनन् । केन्द्रीय कार्यसमितिले थापा र शर्मालाई साइजमा ल्याइदिएको छ । कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रवेश गरेर संकटमा रहेको मुलुकलाई निकास दिनेछ ।

कांग्रेसको कार्यसमितिको बैठक २०८२ मंसिर ११ गते बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।

Published : Saturday, 2025 November 22, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया