कांग्रेसद्वारा भदौ २४ को विध्वंशकारी घटनाको छानबिन गरी कार्वाही, पीडितलाई क्षतिपूर्तिको माग

काठमाडौं । नेपाली कांग्रेसले भदौ २४ मा भएको आक्रमण, लुटपाट र आगजनी सहितका विध्वंशकारी घटनाको सत्य–तथ्य र निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्वाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्ति सहित न्याय उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्न प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, वर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउनु, विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालय सहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति प्रदान गर्न सरकारलाई जोडदार माग गर्दछ ।’

‘भदौ २४ को घटनाक्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यवसायिक क्षति व्यहोर्नु परेका व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारलाई नेपाली कांग्रेस माग गर्दछ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘जेनजेड पुस्ताले प्रदर्शन मार्फत् उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज हुन् ।’

‘नेपाली कांग्रेस प्रदर्शनमार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने गरेको स्मरण गराउँदै सो माग पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

Published : Saturday, 2025 November 22, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया