नेपाल पहिलो पटक डजबल च्याम्पियनसिपमा सहभागी

काठमाडौं । नेपालले पहिलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै ईतिहाँस रचेको छ ।

मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । प्रतियोगितामा १२ देश सहभागी हुँदैछन्, जहाँ आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ ।

नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाइसकेको टोली यसपटक थप आत्मविश्वास, तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा छ ।

प्रस्थानअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा डजबल खेल दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभरि पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको छ ।

विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ ।

नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाशसिंह ऐर, कृष्णहरि बुढाथोकी, रविन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोइरालाको समावेश छन् ।

टोलीसँगै टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हीरामणि नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनुकुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल पनि सहभागी छन् ।

जर्सी पुल मुख्य प्रायोजक बनेको छ । इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोट्र्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रा.लि. डिजिटल पार्टनरको रूपमा रहेका छन् ।

नेपाली टोलीले ऐतिहासिक सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बलियो बनाउने तथा देशको प्रतिष्ठा उकास्ने विश्वास लिइएको छ ।

Published : Friday, 2025 November 21, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया