गगन समूहले धम्काएर हस्ताक्षर गराएको खुलासा, नियमित महाधिवेशनको पक्षमा महिला संघको भेला
काठमाडौं । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन हुनु पर्ने भन्दै विशेष महाधिवेशनको नाममा धम्काएर हस्ताक्षर गर्न लगाएको नेताहरूले बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको आम निर्वाचन र १५औँ महाधिवेशनमा महिलाको सहभागिता विषयको छलफलका सहभागीहरूले विशेष महाधिवेशनको नाममा गाउँदेखि केन्द्रसम्म महाधिवेशन प्रतिनिधिहरूलाई धम्काएर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताए । उनीहरूले धेरै हस्ताक्षर कीर्ते भएको बताएका छन् ।
कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशत हस्ताक्षर गराएको भनेर केन्द्रीय कार्यालयमा बुझाएका छन् । अधिकांश हस्ताक्षरहरू कीर्ते भएको भन्दै नेताहरूले सनाखतका लागि माग गरेका छन् ।
‘नेपाली कांग्रेसका आम कार्यकर्ताहरूलाई एकढिक्का बनाएर अबैधानिक सरकारलाई अबैधानिक रुपमा बन्दै गर्दा यो सरकारको बारेमा हाम्रो धारणा आउन नपाउँदै आज वडादेखि, क्षेत्रदेखि, जिल्लादेखि केन्द्रसम्म विभाजनको अवस्थामा हामी पुग्यौँ । नेपाली कांग्रेसलाई सहि ढंगले अगाडि लैजान सक्छ ? कुनै एक व्यक्तिको प्रलोभनले यो पार्टी बन्दैन । यतिखेर व्यक्तिलाई प्राथमिकतामा राख्ने हो भने यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्न सक्थ्यो रास्वपा, रवि लामिछानेका कारण । यदि व्यक्ति केन्द्रित गरेर राजनीति गरियो भने यदि त्यो नेता तलमाथि भएको अवस्थामा यो पार्टी डुब्न सक्छ,’ नेताहरूले भने ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वमा आफू फेरि नआउने भनेपछि अहिले नै महाधिवेशनको विवादमा अल्झिन आवश्यक नभएको नेताहरूले बताएका छन् । केही समय अगाडिदेखिनै आफू पुनः नेतृत्वमा नआउने सभापति देउवाले बताएपछि विशेष महाधिवेशनको औचित्य नरहेको नेताहरूले बताए ।
कांग्रेस नेताहरूले आगामी निर्वाचन अघि महाधिवेशन गर्न नसक्ने बताएका छन् । अहिले निर्वाचनमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्नुपर्ने नेताहरूको भनाइ छ ।
महिला संघको भेलामा नेताहरू विमलेन्द्र निधि, नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया